यी हुन् नेकपा एस छोड्न तम्तयार कञ्चनपुरका शीर्ष नेता

यी हुन् नेकपा एस छोड्न तम्तयार कञ्चनपुरका शीर्ष नेता

सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङसहित नेकपा एकीकृत समाजवादी (एस) कञ्चनपुरका प्रभावशाली नेताहरू पूर्व पार्टी नेकपा एमाले फर्कने भएका छन् ।  

पूर्व प्रदेश मन्त्री समेत रहेका तामाङसहित समाजवादीका पूर्व प्रदेश अध्यक्ष विक्रम शाहीलगायत कञ्चनपुरका एक दर्जन नेता कार्यकर्ताले नेकपा एस छोड्ने निर्णय गरेका हुन् । 

उनीहरूबाहेक प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, जिल्ला उपाध्यक्ष पूर्णा गुरुङ, जिल्ला उपसचिवहरू आरपी सार्की र लालबहादुर शाही, प्रदेश समिति सदस्य तथा कृष्णपुर नगरपालिकाका मेयरका उम्मेदवार सुरेन्द्र बम, वेदकोट नगरपालिकाका मेयरको उम्मेदवार रामचन्द्र रेग्मी, वेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्द तथा विद्यार्थी सङ्गठन र जन वर्गीय सङ्गठनका नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्न लागेका हुन् । 

आगामी बुधवार (भदौ १५) एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई एमालेमा स्वागत गर्ने तयारी छ । कञ्चनपुरको महेन्द्रनगरमा जनसभाको आयोजना गर्दै एमालेले उनीहरूलाई पार्टी फर्काउने तयारी गरिरहेको छ ।

‘अहिलेसम्म एमाले फर्कने कुरो नै छ । १५ गते फर्कन्छौँ होला,’ सांसद तामाङले धनगढी खबरसँग भने। 

प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत रहेका तामाङ कञ्चनपुर–१ बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उक्त क्षेत्रमा लामाको राम्रो प्रभाव मानिन्छ । यता विक्रम शाही एमाले कञ्चनपुरका पूर्व जिल्ला इञ्जार्ज समेत हुन् । शाहीले यस अघि नै सामाजिक सञ्जाल मार्फत नेकपा एसबाट राजीनामा घोषणा गरिसकेका छन् ।  

वेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्दले प्रदेश बजेटमा पनि पर्याप्त छलफल नगरेको, स्थानीय तहको तहको निर्वाचनको समीक्षा नगरेको, पार्टी तदर्थ समितिमा चलेका कारण आफूहरूले छोड्न छलफल चलाई रहेको बताए ।

‘प्रदेश सरकारको बजेटमा पनि पर्याप्त छलफल भएन् । पार्टीका नियमित बस्नुपर्ने बैठक पनि बस्न सकेन,’ चन्दले धनगढी खबरसँग भने, ‘पछिल्लो पटक नेतृत्वको कार्यशैली माओवादीसँग पार्टी एकता गर्नेतर्फ अघि बढेको देखिन्छ । माओवादीमा विलय हुनुभन्दा नेकपा एमालेमै फर्केन उपर्युक्त हुन्छ भनेर हामीले छलफल चलाइरहेका छौँ ।’ 

असन्तुष्टि समूहहरूले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली र एमाले महासचिव शङ्कर पोखरेलसँग भेटघाट गरिसकेका छन् । दुवै शीर्षस्थ नेताले उचित सम्मान दिने आश्वासन दिएपछि नेकपा एसका नेताहरू पुरानै पार्टी फर्कन लागेका हुन् । 

‘हामीले अध्यक्ष ओली र महासचिव पोखरेलसँग छलफल गरेका थियौँ,’ चन्दले भने, ‘उहाँहरूले एमाले तपाई हामीले निर्माण गरेको पार्टी भएकाले जिल्लामा केही व्यवस्थापन गर्नुपर्ने भए सल्लाह गरेर टुंग्याउँछौं भन्नुभएको छ । एमाले फर्कँदा अपमानित हुनुपर्ने अवहेलित गर्ने अवस्था हुँदैन । सबैलाई उचित जिम्मेवारी दिएर काम लगाउँदा पार्टी बलियो हुन्छ ।’

आफूहरू एमाले पार्टी बलियो बनाउनका लागि कम्तीमा दुई पाइला पछाडि फर्केर एक पाइला अघि बढ्ने अवस्थामा रहेको उनले बताए ।