महेश ओझा
डोटी । डोटीको बिपीनगरमा निर्माण भइरहेको ३.३ मेगावाटको कापडी गाड जलविद्युत् आयोजनाले आगामी वैशाख भित्रै विद्युत् उत्पादन थाल्ने जनाएको छ ।
करिब ९० प्रतिशत निर्माण कार्य सकिएको उक्त आयोजनाले चालू आर्थिक वर्षभित्रै निर्माणका सबै काम सकेर बाँकी १५ दिन आवश्यक परीक्षण गरी वैशाख बाट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको हो । आयोजनाको प्रबन्धक कम्पनी सालमुनी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक पेरिस दाहालका अनुसार आयोजनाको विद्युत् गृह , बाँध र सुरुङ निर्माण कार्य सम्पन्न भैसकेको छ। गेट जडानको काम अन्तिम चरणमा रहेको छ। संरचना निर्माणको काम सकिए पछि मेकानिकल उपकरण जडानको कम पूरा भयको छ।
झण्डै ८ वर्ष पहिले बाट सुरु भएको आयोजनाको निर्माण कार्य २०७५ चैत्र सम्म सक्ने लक्ष्य लिइएको छ। यसको अनुमानित लागत ८० देखी ९० करोड रहेको र हाल सम्म ८० करोड खर्च भइसकेको छ।
पेरिस दाहाल का अनुसार बडी केदार गाउँपालिका १ बर्छैन स्थित कापडि गाडमा बाँध निर्माण गरिएको छ। पानी लाई बिपीनगर १ को ठूली गाड नदी किनारमा निर्माण गरिएको विद्युत् गृहमा खसालिने छ । सो क्षेत्रमा विद्युत् उत्पादन हुने भए सँगै स्थानियहरु हर्षीत भएका छन् भने त्यस क्षेत्रको समग्र विकासमा समेत मदत पुग्ने विश्वास लिइएको छ ।