आर्जुलाई चुनाव हराउन पुष्कर ओझा स्वतन्त्र उठ्दै

आर्जुलाई चुनाव हराउन पुष्कर ओझा स्वतन्त्र उठ्दै

धनगढी। कैलाली क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचन लड्ने तयारी गरिरहेकी काँग्रेस नेतृ आर्जु राणा देउवालाई हराउन मुख्य चुनौतीका रूपमा रहेका पुष्करनाथ ओझा स्वतन्त्र उठ्ने आन्तरिक तयारी गरिरहेका छन् ।

अघिल्लो निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै दुई वर्षअघि काँग्रेस केन्द्रीय समितिले ओझालाई पार्टीबाट निष्कासित गरेको थियो । ५ वर्षका लागि निष्कासनमा परेका ओझामाथिको कारबाही अझै फुकुवा भएको छैन । 

२०७० सालमा भएको उपनिर्वाचनमा यस क्षेत्रबाट ओझाले जितेका थिए । तर २०७४ सालको निर्वाचनमा कैलाली–५ बाट देउवा पत्नी आरजु राणा देउवाले टिकट पाइन् । पुनः चुनाव लड्न चाहेका ओझालाई उक्त कुरा चित्त नबुझेपछि उनले राणालाई असहयोग गरेका थिए । 

परिणाम स्वरूप अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन् । 

त्यस बेला एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग राणा चार हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। एमालेका रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् ।

यस पटक भने निर्वाचनमा काँग्रेसले माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा होमिएको छ । स्थानीय निर्वाचनमा पनि यस क्षेत्रमा काँग्रेसको पकड बलियो देखिएकाले राणाले पुनः यसै क्षेत्रबाट उठ्ने तयारी गरिरहेकी छिन् ।

आर्जु स्वयमले पनि यसअघि सार्वजनिक कार्यक्रममा ‘पार्टीले उपर्युक्त ठानेमा आफू यसै क्षेत्रबाट उठ्ने’ उद्घोष गरिसकेकी छिन् । पार्टीका जिल्ला नेतृत्वलाई पनि आर्जुको पक्षमा माहौल बनाउन प्रत्यक्ष अप्रत्यक्ष लबिङ हुन थालिसकेका छन् ।

राणाले चुनावमा लड्ने आन्तरिक तयारी गरिरहँदा काँग्रेसका पुराना तथा यस क्षेत्रमा प्रभावशाली मानिएका नेता ओझाले स्वतन्त्र चुनाव लड्ने मनस्थिति बनाएका छन् ।

उनको पहिलो प्राथमिकता काँग्रेसले आफूमाथिको कारबाही फुकुवा गरी टिकट देओस् भन्ने छ । यदि त्यसो नभए ओझा आर्जुलाई हराउन भए पनि स्वतन्त्र रूपमा चुनाव लड्ने तयारीमा रहेको उनी निकटस्थहरुले पुष्टि गरेका छन् । 

‘पुष्कर ओझा बहुदलीय व्यवस्थाका लागि लडेका व्यक्ति हुन् । उनको प्राथमिकता राजनैतिक दल त्यसमा पनि नेपाली काँग्रेसबाट नै चुनाव लडौँ भन्ने छ,’ ओझा निकट नेता तथा पूर्व जिल्ला सचिव पूर्ण कुँवरले भने, ‘यदि काँग्रेसले टिकट नदिएमा स्वतन्त्र रूपमा चुनाव लड्नुहुन्छ ।’

प्रधानमन्त्री पत्नी आर्जुले नै यस क्षेत्रबाट चुनाव लड्ने आन्तरिक तयारी गरिरहेकाले ओझाले यहाँ टिकट पाउन अझै मुस्किल छ । त्यसमाथि उनीमाथिको कारबाही फुकुवामा पनि केन्द्रीय कमिटीले कुनै चासो देखाएको छैन । सोही कारण यस क्षेत्रबाट ओझाले स्वतन्त्र उम्मेदवारी दिने सम्भावना बलियो देखिन्छ । 

‘अन्य पार्टी विशेष गरी एमालेबाट पनि उहाँलाई उठ्नका लागि आग्रह आएको छ । तर लामो समय काँग्रेसको प्रजातान्त्रिक आन्दोलनमा होमिएकाले उहाँले एमालेको प्रस्ताव स्विकार्नुहुन्न,’ कुँवरले धनगढी खबरसँग भने, ‘यदि काँग्रेसले उहाँमाथिको कारबाही फुकुवा गरेन र टिकट दिएन भने यहाँको अवस्था कस्तो हुन्छ नेतृत्वले आफै बुझ्नुपर्ने कुरा हो ।’

कारबाही फुकुवा, टिकट र स्वतन्त्र उम्मेदवारीबारे छलफलका लागि यति बेला ओझा पनि काठमाडौँमै रहेका छन् । ओझाले तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । 

काँग्रेस कैलालीका पदाधिकारीहरूले पनि आर्जुलाई यसपल्ट चुनौतीका रूपमा एमालेले उठाउने उम्मेदवार र स्वतन्त्र उठ्ने तयारी गरिरहेका पुष्करनाथ ओझा नै रहेको ब्रिफिङ गरिसकेको छन् ।

‘स्थानीय तहको नतिजा हेर्दा यस क्षेत्रमा आर्जु दिदीले सहजै जित्ने देखिन्छ,’ नाम नखुलाउने शर्तमा ती नेताले धनगढी खबरसँग भने, ‘यस पटकको मुख्य चुनौती एमालेले उठाउने र स्वतन्त्र उठ्ने तयारी गरिरहेका पुष्करनाथ ओझा देखिन्छन् ।’