प्यालेस्टिन र इजरायल द्वन्द्वको चपेटामा बालबालिका प्रभावित

प्यालेस्टिन र इजरायल द्वन्द्वको चपेटामा बालबालिका प्रभावित

इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनामा बालबालिकाहरु सबैभन्दा बढि प्रभावित बनेका छन्। यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत बताएका छन्।

गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो। यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो।

इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन्।

मंगलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ। गाजामा इजरायली आक्रमणमा भारी संख्या सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुखले बताएका छन्।

नागरिकहरूलाई मार्ने, घाइते पार्ने वा नागरिकका वस्तुहरूलाई क्षति पुर्‍याउने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निषेध गरिएको छ। शुक्रबारदेखि आइतबारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको छ।