तरकारी खेतीबाट स्थानीयको आय वृद्धि

तरकारी खेतीबाट स्थानीयको आय वृद्धि

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु गाउँका सबै स्थानीय तरकारी खेतीमा लागेका छन् । नेपालले कृषि पेसा छोड्न थालेका बेला ३५ घरधुरी रहेको घर्मु गाउँका अधिकांश स्थानीय तरकारी खेतीमा लागेका हुन् ।

तरकारी खेतीबाट स्थानीयले पर्याप्त आयआर्जन गरेका छन् । उनीहरूले आलु, काउली, बन्दा, प्याज, लसुनलगायतका तरकारी खेती गरेका छन् । ५ रोपनी जग्गामा स्थानीय घनश्याम घलेले तरकारी गरेका छन् ।

बारीमा आलु, काउली, बन्दालगायतका तरकारी फलाइएको उनले बताए । तरकारीबाट राम्रो आम्दानी हुने भएकाले जीवनयापनमा सहज भएको उनको भनाइ छ । ‘धान खेती पनि गर्छौं । त्यसपछि खेत बाँझो राख्न मन लागेन । अनि तरकारी लगाउन थाल्यौं,’ उनले भने, ‘तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ ।

घर व्यवहार चलाउन र बालबालिका पढाउन कुनै समस्या छैन ।’ गत वर्ष लगाइएको तरकारी खेतीबाट यस वर्ष ५० हजार रुपैयाँ आम्दानी भएको उनले बताए । गाउँमा उत्पादन गरिएका तरकारी गाउँमै सञ्चालित होटल तथा पसलमा बिक्री गर्ने गरिएको छ । आलु भने बेंसीसहरदेखि काठमाडौंसम्म लगिने उनको भनाइ छ ।

बृखमाया घलेले दुई रोपनी जग्गामा आलु खेती गरेकी छन् । अघिल्लोपटकको आलु खनिसकिएको र पछिल्लोपटकको आलु खन्ने तयारी भइरहेको उनले बताइन् । उनका अनुसार यसै वर्ष आठ मुरी आलु उत्पादन भएको छ । उनले भनिन्, ‘आलु उत्पादन राम्रो छ । धान खेतीसँगै आलु खेती पनि सँगसँगै गर्छौं । पैसाका लागि भांैतारिनुपरेको छैन ।’ अधिकांश स्थानीय तरकारी खेतीमा आकर्षित भएका छन् । स्थानीयले एक पाथी आलुको १ सय २० रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।

२०४४ सालमा तत्कालीन सिँचाइ डिभिजन कार्यालय लमजुङको सहयोगमा घेर्मुफाँटमा तरबाली सिँचाइ आयोजना निर्माण सम्पन्न गरिएको थियो । बेलाबेलामा मर्मत गरिँदै खेती गरिँदै आएको स्थानीयले बताएका छन् ।

सिँचाइ सुविधा भएकाले स्थानीय तरकारी खेतीमा लागेका हुन् । गत वर्ष गाउँलेले १८ लाख रुपैयाँबराबरको तरकारी बिक्री गरेका थिए । यस वर्ष धेरै आम्दानी हुने स्थानीयले बताएका छन् ।