लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशका आयोजनामा बिदेशी लगानीकर्ताको चासो

लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशका आयोजनामा बिदेशी लगानीकर्ताको चासो

काठमाण्डौंमा जारी लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशका आयोजनामा बिदेशी लगानीकर्ताहरुले चासो ब्यक्त गरेका छन् । 
नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका सातवटा आयोजना लगानी सम्मेलनमा प्रवद्र्धन गरिरहेको छ । सुदूरपश्चिम प्रदेशको चर्चित पश्चिम सेती जलविद्युत अयोजना, सेती नदीकै पानी प्रयोग गरी विजुली निकाल्न सकिने एसटी १ आयोजना, खप्तड केबुलकार परियोजना, सुदूरपश्चिम परिवहन, गोदावरी एग्रिकल्चर लगायत सातवटा आयोजनामा चीन, भारत, दक्षिण कोरिया र मकाउका लगानीकर्ताहरुले चासो राखेका छन् । 
लगानी सम्मेलनमा सहभागी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराका अनुसार सम्मेलनको दोस्रो दिन शनिबार बिभिन्न आयोजनाहरुबारे गरिएको सम्भाब्यता अध्ययनका प्रतिवेदनहरुका आधारमा छलफल भइरहेको छ । लगानीकर्ताहरुको चासो सुदूरपश्चिम जलविद्युत आयोजनामा बढी छ ।

पश्चिम सेती र एसटी १ आयोजनामा बिशेष रुपमा चीन र भारतका लगानीकर्ता आकर्षित भएको उनले बताए । यस्तै भारतीय लगानीकर्ताहरुले प्रदेश परिवहन सेवाबारे पनि चासो ब्यक्त गरेको मन्त्री बोहराले जानकारी दिए । मकाउ र दक्षिण कोरियाका लगानीकर्ताले भने कृषि र पर्यटन बारे चासो राखेका छन् । 
सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारले समेटेका सात आयोजना बाहेक थप नौ आयोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरेको छ ।

यी नौ आयोजनाबारे जानकारी दिन प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारीपत्र समेत प्रकाशन गरेको छ । शनिबार राति धनगढी खबरसित कुरा गर्दै आर्थिक मामिला तथाा योजना मन्त्री बोहराले काठमाण्डौंमा भइरहेको लगानी सम्मेलन सकिएपछि सुदूरपश्चिम प्रदेशमा पनि छुट्टै लगानाी सम्मेलन आयोजना गरी लगानी भित्र्याउने कामको थालनी गरिने बताए ।