कृषि सहकारीमा युवा सहभागिता

कृषि सहकारीमा युवा सहभागिता

डोटीको बोगटान फुड्सिल गाउँपालिका गगुडाका स्थानीयवासी कृष्ण बोगटीको उमेर करीब ३५ वर्ष भयो ।

उहाँ स्थानीय जनता कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हुनुभएको छ । सोही गाउँपालिका–६ की पवित्रादेवी चन्दको उमेर करीब २६ वर्ष हुनुभयो, उहाँ पनि उक्त संस्थाको कोषाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै सोही गाउँपालिका–६ का योगेन्द्र विकको उमेर करीब २८ वर्ष भयो, उहाँ उक्त संस्थाको व्यवस्थापक हुनुहुन्छ ।

बोगटी, चन्द र विक मात्रै होइन, उक्त सहकारी संस्थामा रहेका १८८ शेयर सदस्यमध्ये अधिकांश युवा रहेका छन् । कृषि सहकारीमार्फत पूरै वडाको नेतृत्व गर्ने युवाको सोच रहेको छ ।

कृषकलाई सङ्गठित गरी कृषि उत्पादनमा वृद्धि गर्ने, उत्पादित कृषि उपजको बजार व्यवस्थापन गर्ने र कृषकलाई बचत गर्ने बानीको विकास गर्ने उद्देश्यका साथ गठन गरिएको उक्त सहकारी संस्थाले आगामी तीन वर्षमा पाँच सय शेयर सदस्य पु¥याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष कृष्ण बोगटीले बताउनुभयो ।

“युवा रोजगारी नपाएको भन्दै भारततिर कामका लागि जाने गरेका छन्, ती युवालाई गाउँमै रोकेर कृषि उत्पादन बढाउनुपर्छ भन्ने हाम्रो प्रयास हो”, अध्यक्ष बोगटीले भन्नुभयो ।

कृषकहरूले आफूले उत्पादनको मूल्य राम्रो नपाउने भएकाले सहकारी संस्थाबाट सङ्कलन केन्द्र स्थापना गरेको सहकारीका व्यवस्थापक योगेन्द्र विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकलाई पनि उनीहरूको परिश्रमको उचित मूल्य दिलाउन र उपभोक्तालाई उचित मूल्यमा कृषि उत्पादन उपलब्ध गराउनका लागि हामी प्रयासरत छौँ ।”

हालसम्म ६० हजार शेयर पुँजी सङ्कलन गरिसकिएको उक्त संस्थाका कोषाध्यक्ष पवित्रादेवी चन्दले बताउनुभयो ।

युरोपियन युनियन र डेनचर्च एडको आर्थिक तथा फियान नेपाल र लि–वर्डको प्राविधिक सहयोगमा सम विकास केन्द्र डोटीले सञ्चालन गरेको साना किसानका लागि दिगो खाद्य सुरक्षा परियोजनाको सहयोगमा सो वडामा जनता कृषि सहकारी संस्था स्थापना भएको हो ।