बर्खामा सधैँ अनिदो बस्ने शिवरत्नपुरः सधैँ स्वास्थ्य, शिक्षा र सुरक्षाको अभावमा

बर्खामा सधैँ अनिदो बस्ने शिवरत्नपुरः सधैँ स्वास्थ्य, शिक्षा र सुरक्षाको अभावमा

धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर तिनमा अवस्थित छ । शिवरत्नपुर । जहाँ ९५ बढी घरधुरी रहेका छन् । 

यो सुगम जिल्लाको दुर्गम गाउँको बारेमा जान्नु पूर्व एकपल्ट याद गर्नुस् त । तपाईँको जिन्दगीमा तपाई कुन कुरालाई सबै भन्दा अप्ठेरो अथवा दुःख दायी क्षण मान्नु हुन्छ ? 

हो तपाईँहरूले भर्खरै सोच्नु भएका र नसोचेका अनैको दुःख र कष्ट भोग्छन् । यहाँका स्थानीय र यहाँका आमाको पेटमा हुर्किँदै गरेका भ्रुण देखी वृद्ध, वृद्धा बा-आमा सम्म । 

यो गाउँलाई कयौँ ठाउँमा कैलाली नेपाल र भारत सँगको सीमा छुट्टाउने मोहना नदिले कैलाली बाटै अलग्याई दिएको छ । यहाँ सम्म पुग्न मोहना वारी सम्म त सडक छ । तर मोहना तर्न न कुनै साँघु छ । न झोलुङ्गे पुल । पक्की मोटरेबल पुल त परको कुरा । 

तपाईँको मनमा लागी रहेको होला की आमाको पेटमा हुर्किँदै गरेको भुर्णले पनि कसरी दुख पाई रहेको होला ? सोच्नु स्वाभाविक पनि हुनसक्छ । तर यहाँ केही यस्तै भइरहेको छ । सामान्यतया मानव जीवनका लागी चाहीने आधारभूत आवश्यकताको अवस्था कस्तो छ, शिवरत्नपुरमा ? 

आवतजावत तथा सवारी सुविधा कस्तो छ ? 

शिवरत्नपुर कैलालीको कैलारी गाउँपालिकामा पर्ने भए पनि बिचमा बग्ने मोहना नदिले गर्दा सडक यातायातको पहुँचबाट वञ्चित भएको छ । कारण हो, नदी तर्न दीर्घकालीन माध्यम नहुनु । यहाँका स्थानीय गाउँपालिकामा पर्ने काम होस, स्वास्थ्य उपचार, लेख्न पढ्न जुन सुकै कामको लागी पनि आवत जावत गर्नु पर्‍यो भने डुङ्गाको भर परेर बसेका हुन्छन् । बर्खाको समयमा नदीमा बाढी आएमा त्यहाँका स्थानीय डुङ्गाबाट पनि नदी तर्न सक्दैनन् । उनीहरू बन्द पिँजडा भित्रको सुगा जस्तै हुन्छन् भन्दा फरक नपर्ला । 

यहाँ झोलुङ्गे पुल पनि बनाई दिए सहज हुने स्थानीयको भनाई छ । “यहाँ विगत तिन वर्ष देखी निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे अझै पनि आधा जति काम पनि भइसकेको छैन । यो झोलुङ्गे पुल यहाँका नागरिको जीवनमा नयाँ आयाम ल्याउने कडी नै बन्ने थियो । तर खै कटानले पुल निर्माण स्थल पनि बगाउने स्थिति आइसकेको छ । सरकारले केही वास्ता गरेको छैन” सोही गाउँका स्थानीय कमल प्रसाद चौधरीले बताए ।   

नदी कटानको समस्याले सुरक्षित महसुस कहिले गर्दैनन् !

मोहना नदिले वर्षेनी आफ्नो धार फेरी रहेको हुन्छ । त्यहाँका कयौँ किसानको नम्बरी खेतीयोग्य जग्गा मोहना नदिले बगाएर, पुरेर लगेको छ । मोहना पारी भारतसँग सीमा जोडिएको यो गाउँ बर्षौँदेखी विभिन्न अधिकारबाट त वञ्चित भएको नै थियो । झन् गाउँमै बाढी पस्ने जोखिमले उनीहरू को झरी परेको रात र नदिको पानीको बहाव बढेको रात अनिदो नै बित्छ । 

नदी कटानले गर्दा यसपालि पनि बस्तीको केही भाग डुबानमा परेपछि शिवरत्नपुरका १५ परिवार विस्थापित भएका छन् । यसपालिको सामान्य बर्षातमैपनि सो गाउँका १५ परिवार विस्थापित भएका हुन् । नदी कटान रोक्न दीर्घकालीन योजना नबन्दा बर्सेनि बर्खा लागेसँगै यो गाउँका नागरिकले खुला चौरमा बास बस्नुपर्ने बाध्यता छ । नदिका कारण बस्ती नै बगाउने खतरा बढेपछि सुरक्षित आवासका लागी र दीर्घकालीन रूपमा नदी कटान रोक्न ढुङ्गा तार बार सहितको तट बन्धन निर्माण गरिदिन उनीहरूले सरकार सँग माग राखेका छन् । 

“नदिले हरेक वर्ष धार फेरी रहन्छ । कहिले कता पट्टीबाट बग्छ ?  कहिले कता ? कता कटान गर्ने हो पत्तै हुँदैन । तिन महिना श्रमदान गरेर बनाएको अस्थायी बाध पनि नदिले बगाएर लग्यो । जैविक र भौतिकको तट बन्धन निर्माण गर्न यहाँ खर्च गरेको २० लाग पनि खेर गयो । मेरो त खेत पनि बगाएर लग्यो । यो वर्ष धान पनि रोपाई गरेको छैन मैले ।” स्थानीय सन्तराम चौधरीले दुखेसो गरे । 

चौधरीले नदिले एकदमै समस्या गरेकोले बौडर देखी नै नदी छेउ छाउमा सलपिङ्ग तार जाली र ढुङ्गा सहितको तट बन्धनको माग गरेका छन् । 

नदी कटानले गर्दा नै गाउँको नदी क्षेउ को घरहरूमा नदी पसेर घर डुबान परेपछि मैदानमा त्रिपाल टाँगेर बसेकी अनुजा चौधरीले नदिले घर काट्दै काट्दै आफ्नो घर नजिक नदी पुगेकोले सारेको बताइन् । हरेक वर्ष बर्खामा आउने बाढीका कारण सुरक्षित ठाउँ सर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । 

“गत वर्षको बाढीले नदी धेरै कटान भयो पुरै नदी कटान भएपछि गाउँमा नदी छिर्न थालिसक्यो एक दिनको पानीले नै हाम्रो घरमा नदी पस्न थालेपछि हामी यो मैदानमा सरेका हौँ । बाढीले खानेकुरा, लत्ता कपडा सबै भिज्यो । घर बासको व्यवस्था गरी दिए पनि हुने थियो । धेरै अप्ठेरोमा परेका छौँ । चौरमा बस्दा यहाँ पनि सरकारी जग्गा हो भनेर दुई तिन महिना मात्र बस्न र आफ्नो व्यवस्था गर्न भन्दै छन् । आफ्नो खेत घडेरी सबै नदिले बगाई सक्यो ।”

विद्यार्थीहरूलाई पठन पाठनको समस्या !

शिबरत्नपुरमा ९५ बढी घर दुरीमा सयौँको सङ्ख्यामा विद्यालय पठाउनु पर्ने बालबालिका भए पनि गुणस्तरीय शिक्षाका लागी विद्यालय छैन । आधारभूत तह अर्थात् कक्षा पाँच सम्म पढाइ हुने एक विद्यालय त्यहाँ रहेको भए पनि उक्त विद्यालयमा शिक्षकको अभाव रहेको छ । तीन जना शिक्षकले कक्षा पाँच सम्म अध्यापन गराउन गुणस्तरीय शिक्षा दिन नसकेको स्थानीय अभिभावक सिमरन चौधरीले बताइन् । त्यहाँ गाउँ बाट अन्य विद्यालय जान समस्या भएकोले सोही द्यिालयलाई कक्षा १० सम्म पठनपाठन गर्ने व्यवस्था मिलाई दिए धेरै विद्यार्थीहरूले राम्ररी सुरक्षित ढङ्गले पठनपाठन गर्न पाउने उनको भनाइ रहेको छ । 

सिमरनले आफ्नै शब्दमा भनिन्, “मेर फेन एक ठो बच्चा बा । यहीक सरकारी स्कुल मे पाठाईछे । टाढा पठाउनक लग डर लागटा । यी स्कुल मे टिचरके कमी बाबै । एक ठो और टिचर की जरुरत बा । कक्षा फेन बाढेके १० सम करदेवी टो यहाँक सब लोक ठिक से पढ पाइट । हमार सरकार से यही मा हो ।”

शिबरत्नपुरबाट कक्षा पाँच पछि पढ्न हसुलिया लगायतका अन्य ठाउँ जानुपर्छ । नेपाल तर्फको भागमा नदी छ । तर्न समस्या अर्को पट्टि त भारतीय सिमाना नै भई हाल्यो । त्यहाँ किनमेल तथा स्वास्थ्य उपचारको लागी बाहेक जाने कुरै भएन । 

सोही ठाउँका कक्षा आठमा अध्ययनरत विद्यार्थी अनिल चौधरी अध्ययन गर्न हसुलिया जान्छन् । उनलाई १० बजे देखी विद्यालय जादा डुङ्गा तरेर विद्यालय सम्म एक देखी डेढ घण्टा लाग्छ । “बिहान सात बजे स्कुल लाग्ने बेला त कयौँ पटक विद्यालय छुटेको छ । अझ नदीमा बाढी आएको बेला पनि स्कुल जान सक्दैनौ । विद्यालय जान सारै समस्या हुन्छ । नाउ वाला हाम्रो पैसा लिँदैनन् अरू गाउँको आए पछि पैसा लग्छन् । नत्र त्यहाँ पनि खर्च हुने थियो । बढी पानी आएको दिन त नाउ चढ्न पनि डर लाग्छ । परीक्षाको बेला उतै साथीको घर बसेर परीक्षा दिन्छौँ । साथीको घर जाने अवस्था नभए कोठा गरेर पनि बस्छौँ ।” अनिलले भने । 

कक्षा पाँच सम्म भने शिवरत्नपुरकै श्री विश्वेश्वर प्राथमिक विद्यालयमा अनिल सँगै उनका साथी विशाल चौधरी पनि पढ्थे तर कक्षा छ मा अध्ययन गर्न अर्को विद्यालय गाउँबाट लगभग साइकलमा डेढ घण्टा टाढा पढ्न जानु पर्ने स्थिति आए पछि भने उनी दुवैको साथ पनि छुट्यो ।

विशाल बोर्डिङ स्कुलमा कक्षा तीनमा पढ्न थालेकोले उनको विद्यालय समय फरक पर्‍यो भने अनिल कक्षा आठमा हसुलियाको सरकारी विद्यालयमा पढ्ने गरेकोले उनको विद्यालय समय पाठ्य भार पनि फरक पर्ने भएकोले सँगै पढ्न नमिलेको उनीहरूले बताए ।

विशाल भन्छन्, “स्कुल धेरै छुट्छ । बाढी आउने महिना धेरै छुट्छ । कहिले काँकी त गाउँमै बाढी पस्छ कि भनेर पनि डर लाग्छ । ढिलो सुत्छौ । राति धेरै डर लाग्छ ।”

यहाँ के भई दिए सजिलो हुने थियो भनी सोधिएको प्रश्नमा अनिल र विशालले मिठो स्वरमा सँगै भने, “नदिमाथि पुल बनी दिए हुने थियो । यतै एउटा राम्रो स्कुल पनि बनी दिए अझ राम्रो ।”

बिरामी हुँदा नदी तर्न नसके स्वास्थ्य उपचारको अभावमा मर्नुको विकल्प छैन ! 

यो  ठाउँमा कुनै अस्पताल, स्वास्थ्य चौकी छैन । खोप केन्द्र निर्माण गरिए पनि सञ्चालनमा नआएको यहाँका स्थानीयको गुनासो छ । बच्चा पाउन्जेल कुनै अप्ठेरो समस्या पो आइ पर्ने पो हो कि भनेर गर्भवती महिला डरै-डरमा बसिरहेकी हुन्छिन् । गर्भवती आमा डर र त्रासमा बाची रहरेकी छन् भने पेटमा हुर्किरहेको भ्रुण लाई पनि त्यसको असर परिरहेको होला, डराइ रहेको होला हैन र ?  

उपचार गर्न नेपाल तर्फ आउनु भन्दा भारत तिर जानु त्यहाँ नागरिकका लागी सहज पर्छ । तर कहिले काहीँ भारतीय एसयसबिले भारतीय सीमामा पुगिसके पछि निहुँ खोजेर बाटोमै अल्झाई दिने समस्या भने कमी नभएको त्यहाँका स्थानीय बताउँछन् । 

नेपाल तर्फ आउन त्यही मोहना नदी बाधक बनेको छ । बर्खामा तथा रातिको समयमा नदिमा बाढी आएको छ र भारत तर्फ जान सक्ने स्थिति छैन । भने सर्प द्धसं, अन्य ठुला बिरामी आइलाग्यो भने मृत्यु स्वीकार गर्न बाहेकको विकल्प त्यहाँका नागरिक सँग छैन । 

सशस्त्र प्रहरी बिओपीको प्रभाव ?

प्राकृतिक प्रकोप बाट त्रसित त्यहाँका स्थानीयले सशस्त्र प्रहरीको विओपी स्थापना र सशस्त्र को उपस्थितिले भने बाह्य खतराबाट सुरक्षित महसुस गरेका छन् । सशस्त्र प्रहरीको बिओपी बाट नदी तरेर उक्त बस्तीमा पुगिने भए पनि कहिले काहीँ हुने गस्तीले स्थानीयले सुरक्षित महसुस गरेका हुन् । श्विरत्नपुरका एक स्थानीले धनगढी खबर सँगको कुराकानीका क्रममा भने, “यहाँ सशस्त्र प्रहरी आए देखी भारतीय एसएसबीहरु को टोली यहाँ आउन छोडेको छ । दुःख दिन छोडेको छ । पहिला यहाँ आउने जिस्काउने गर्थे तर अहिले हाम्रो सशस्त्र को पनि यहाँ गस्ती हुन थाले पछि आउन छोडेका छन् । हामीलाई पनि पहिलेको जति डर लाग्दैन ।” 

के भन्छन्, कैलारीका जनप्रतिनिधि ?

शिवरत्नपुर गाउँमा नदी पसेपछि विस्थापित भएका १५ घर परिवारलाई वासस्थानका लागी तत्कालका मैदानमा त्रिपाल उपलब्ध गराउनुका साथै पानीको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष राज समझ चौधरीले बताए । 
“अहिलेका लागी त त्रिपाल पानीको व्यवस्था गरेका छौँ तर दीर्घकालीन समाधानका लागी गाउँपालिकाको बजेटले पुग्दैन यसमा ठुलो बजेट र नीति चाहिन्छ यसका लागी प्रदेश या केन्द्र लेनै सक्ने हो म पहल पनि गरिरहेको छु र दुई वटै सरकारलाई आग्रह पनि गर्दछु यो समस्या समाधानका लागी प्राथमिकता दिनुहोला ।”

अब यो गाउँलाई सुरक्षित स्थान तर्फ सार्ने या तटबन्ध नबाट दीर्घकालीन समाधान के गर्ने प्रदेश र संघ सरकार सँग सहकार्य गर्ने उनको भनाई छ ।

सुन्दर भविष्य बोकेको सीमा रक्षा समेत गर्दै आएको शिवरत्नपुर जोखिममा परेपछि कैलारी गाउँपालिकाले माथिल्लो सरकार सँग समस्या समाधानका लागी आग्रह समेत गरेको छ ।