१४ वर्षीया किशोरीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ

१४ वर्षीया किशोरीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ

ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालक यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ परेका छन्।

किशोरीलाई होटल सञ्चालकहरु मिलेर पालैपालो यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले अनुसन्धानको क्रममा मंगलबार र बुधबार गरी तीन जना सञ्चालक र तीन जना ग्राहकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईले बताए।

उनका अनुसार परेका मध्येका तीन जनालाई जबरजस्ती करणी, दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा मुद्धा दायर गरिएको छ। राईका अनुसार बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो। सामान्यतया एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले जनाएको छ। ती किशोरीलाई अन्य होटल सञ्चालकहरुले पनि यौनजन्य गतिविधिमा संलग्न गराएको उजुरी परेका कारण पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।