निर्मला 'हत्यारा' को स्केच बनाउँदै प्रहरी, यस्तो छ अनुसन्धानमा देखिएको डरलाग्दो पाटो

निर्मला 'हत्यारा' को स्केच बनाउँदै प्रहरी, यस्तो छ अनुसन्धानमा देखिएको डरलाग्दो पाटो

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । तर, अनुसन्धानका क्रममा केही अनौठा र डरलाग्दा तथ्यहरु भने फेला परेको प्रहरीले बताएको छ । 

केन्द्रीय अनुसन्धान व्युरो  सिआइबी को टोलीले सुरुदेखि नै घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिसँग सोधपुछ गर्ने, बयान लिने, डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गर्ने, आसपासका सबै वडाका घरका सदस्यको लगत लिनेलगायतका काम प्रहरीले गरेको थियो । त्यस क्रममा प्रहरीले २ हजारभन्दा बढी घरका सदस्यको लगत संकलन गरेको हो । 

घरका सदस्यका विवरण, के गर्छन्, कहाँ छन्, पुरानो पृष्ठभूमि के हो, साउन १० मा कहाँ थिए लगायतका विषय प्रहरीले केलाएको छ । ‘‘घरका सदस्यको विवरण हेरिरहेका छौं । विवरणमा शंकास्पद देखिएकालाई बोलाउने, सोधपुछ गर्ने लगायतका काम भइरहेका छन्,” एक अनुसन्धान अधिकृतले भने । अनुसन्धानका क्रममा प्रहरीले ल्याएका तथा बोलाएका ५ सयभन्दा बढी व्यक्तिमध्ये ८० प्रतिशत युवा कुलतमा फसेको पाइएको छ ।

ती अधिकारीले भने, ‘‘हामीले अनुसन्धानका क्रममा धेरै युवाहरु लागुऔषध प्रयोगकर्ता भएको पायौं । हाम्रो मुख्य पाटो त अपराधीको खोजी नै हो । तर लागुऔषध भित्रभित्र युवाहरुमा भुसको आगोजस्तै सल्किएको पायौं ।’’ भारतीय सीमा जोडिएको कञ्चनपुरमा सहजै भारतीय लागु औषधजन्य औषधी पाइने भएकाले युवाहरु त्यसको सिकार हुने गरेको हो । मध्यम र सम्पन्न परिवारका सदस्य नै लागुऔषधका अत्यधिक प्रयोगकर्ता रहेको अनुसन्धानमा क्रममा पाइएको ती अधिकारीले बताए ।

महिला देखेपछि अश्लील हर्कत देखाउने पुरुष
अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद व्यक्तिको खोजी गर्न थाल्यो । त्यसअघि प्रहरीले मानसिक रुपमा विक्षिप्त वा चिनजानकै व्यक्तिबाट घटना भएको निष्कर्ष निकालेको थियो । अहिले पनि प्रहरी अधिकारी त्यही निष्कर्षमा छन् । निकै पेचिलो र विवादित बनेको निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले महिलामाथि अश्लील हर्कत गर्नेहरुको पहिचान गर्न थाल्यो । एक प्रहरी अधिकारीले भने, ‘‘विभिन्न स्थानमा त्यस्ता व्यक्ति खोज्दै जाँदा १५ जनाभन्दा बढी भेटिए, जो एकान्त स्थानमा बसेर कुनै महिला एक्लै गएको देखे आफ्नो लिङ्ग देखाएर भाग्ने गरेका थिए ।’’

केही समयअघि एक युवतीले एक पुरुषले आफूलाई बाटोमा हिँड्ने क्रममा लिङ्ग देखाउने पुरुषबारे प्रहरीलाई बताएकी थिइन् । प्रहरी टोलीले युवतीको बयानका आधारमा ती पुरुषको स्केच तयार पार्यो । स्केचबाट प्रहरी टोली खोजीमा जुट्यो । दुई दिनपछि ती व्यक्ति भेटिए । एक अधिकारी भन्छन, ‘‘उनी हेर्दा भलादमी । मोटरसाइकल चढेर हिँड्ने विवाहित पुरुष रहेछन् । उनले सालघारीको जंगलमा महिलाहरुलाई आफ्नो लिङ्ग देखाउने गर्दा रहेछन् ।’’ यस्ता अन्य पुरुष र युवाहरु पनि अनुसन्धानका क्रममा फेला परेको प्रहरी बताउँछ । 

‘हत्यारा’को स्केच बनाउँदै प्रहरी
कसैले दिएको शंकास्पद व्यक्तिको बयानका आधारमा पूरा विवरण नजानेको अवस्थामा शंकास्पदको स्केचसमेत प्रहरीले बनाउन थालेको छ । स्केच बनाउने टोली कञ्चनपुरमै कार्यरत छ । प्रहरी अधिकारीले अनुसन्धानका क्रममा केही स्थानीयको असहयोग हुँदै आएको गुनासो गर्दै आएका छन् । निर्मलाको शव भेटिएको स्थानमा एक अपरिचित व्यक्ति एक्लै हिँडेको समयमा लिङ्ग देखाएर लुक्ने गरेको चर्चा चल्दै आएको छ । तर उनको वास्तविक अनुहार कसैले ठम्म्याउन सकेको छैन ।

एक प्रहरी अधिकारी भन्छन्, ‘‘केही परिवारका सदस्यले उनको बारेमा जानकारी वा अनुहार चिनेको हुनसक्छ । तर हामीलाई हुलियासम्म बताउन चाहँदैनन् ।’’ निर्मला हत्याकाण्डपछि ती व्यक्ति खोला किनारमा देखिएका छैनन् । अनुसन्धानमा संलग्न टिमले निर्मला हत्यामा संलग्न भएको भन्दै एउटा स्केच बनाएका थिए । तर स्केचमा कोरिएको व्यक्ति पहिचान गर्न सकिएको छैैन ।