कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन्।

गाउँपालिकाको वडा नं ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो।
 
कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अतिविपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम दिने गरेको छ। सरावल गाउँपालिकामा ७ सय जनाका लागि ७० लाख रुपैयाँ आएको थियो। सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो। ७ वडा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेका थिए।

यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला गैर विपन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो।

विवादले उग्ररुप लिंदै कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन्। घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ। दुवै पक्षले इँटा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन्।