१ लाख राहत बाँड्न २८ लाख हेलिकप्टर भाडा

१ लाख राहत बाँड्न २८ लाख हेलिकप्टर भाडा

वागमती प्रदेश सरकाले १ लाख रूपैँयाको राहत वितरणका लागि २८ लाख खर्च गरेको खुलेको छ। २०७७ साउनमा सिन्धुपाल्चोकको लिदीमा गएको बाढीपहिरोको निरीक्षण तथा राहतको लागि पुगेको टोलीले चढेको हेलिकप्टरलाई २८ लाख रूपैँया भुक्तानी गरिएको हो।

महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७ साउन २६ को बाढीपहिरोबाट पीडित परिवारलाई एक लाखको राहत वितरणमा गएको टोली चढेको हेलिकप्टरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयले २८ लाखभन्दा बढी भाडा तिरेको हो।

राहत वितरणका लागि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलस, उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, वागमती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेललगायत लिदी पुगेका थिए।

सोही दिन हेलिकप्टरमार्फत प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा पनि लिदी पुगेका थिए। पहिरोबाट प्रभावित परिवारलाई १ लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी हेलिकप्टर ३ पटक गरेर क्रमशः २५ लाख ६८ हजार र ३ लाख गरी २८ लाख ६८ हजार खर्च गरेको प्रतिवेदनमा खुलाइएको छ। प्रतिवेदनले यस्तो अनुत्पादक खर्च नियन्त्रणका लागि प्रदेश सरकारलाई सुझावसमेत दिएको छ।