भारतले दियो नेपाललाई टेन्टलगायत सामाग्री

भारतले दियो नेपाललाई टेन्टलगायत सामाग्री

भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरेका छन्। गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितलाई भारतीय जनता र भारत सरकारको तर्फबाट भएको सहयोगका लागि धन्यबाद दिएका थिए।

नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणले बताएको उनको सचिवालयले जनाएको छ। नेपाल बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गरेका थिए।

राजदूत श्रीवास्तवले राहत सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। उनले प्राकृतिक प्रकोपबाट बच्न भारतले नेपाललाई सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको छ।