सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण

सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ। आज दिउँसो अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो।

त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।  उनले समितिका सदस्यहरुलाई अर्थ मन्त्रालयका प्राविधिकहरुले त्यसबारे आवश्यक जानकारी गराएको पनि बताए।  

यसैबीच, समितिले घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेकोछ। यस सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरु समितिलाई उपलब्ध गराउन आज बिहान अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि समितिले जनाएको छ। 

निःवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो।समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा रहेका छन्। 

त्यसैगरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहनु भएको छ भने नेकपा (एकीकृत समाजवादी) की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहेका छन्। 

एक हप्ताअघि अर्थात गएको असार २२ गते बुधवार गठन गरिएको यो समितिको सभापति समेत अझै चयन गरिएको छैन। कार्यविधि भने तय गरी छानबिनको कामलाई अघि बढाइएको समितिका सचिव अर्यालले बताए।