शिल्ड खेल्न आएकी १४ वर्षिया किशोरीमाथि वडाध्यक्षद्दारा बलात्कारको प्रयास, पक्राउ पुर्जी जारी

शिल्ड खेल्न आएकी १४ वर्षिया किशोरीमाथि  वडाध्यक्षद्दारा बलात्कारको प्रयास, पक्राउ पुर्जी जारी

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलानविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। 

राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि घलानविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। गत असार १८–१९ गते हेटौंडाको हुप्रचौरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेल्न आएकी कैलाश गाउँपालिका–९ नामटारस्थित कालिका माविकी विद्यार्थीमाथि वडाध्यक्ष घलानले बलात्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी परेको थियो।
 
१४ वर्षकी विद्यार्थीले मध्यरातमा वडाध्यक्ष आफूहरु सुतिरहेको कोठामा प्रवेश गरेर बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले घलानविरुद्ध उजुरी दर्ता गरेको हो। पीडित किशोरीले उजुरी दिएपछि नेपाली कांग्रेस कैलाश गाउँपालिकाले घटना नियोजित भएको भन्दै पक्राउ पुर्जी जारी नगर्न प्रहरीलाई दबाब दिएको जनाइएको थियो। घलान कांग्रेसबाट निर्वाचित भएका थिए। 

तर, प्रहरीले आज घलानविरुद्ध पक्राउ पुर्जी जारी गरेको उनलाई गिरफ्तार गर्ने अभियान सुरु गरेको जनाएको छ। असार १९ गते राति १२ः३० बजेको समयमा वडाध्यक्षले आफूलाई बलात्कारको प्रयास गर्ने उद्देश्यले संवेदनशील अंगहरुमा सुम्सुम्याएको जाहेरीमा उल्लेख गरेकी थिइन्। घटना १९ गते रातिको भए पनि बालिकाले असार २२ गते आफ्नो आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, प्रहरीले आइतबारमात्र घटना दर्ता गरेर आज पक्राउ पुर्जी जारी गरेको हो।


राजनीति दलको दबाबले घटनालाई विद्यालय तहमै मिलाउने प्रयास गराएको भए पनि पीडित किशोरीले महिला अधिकारवादी संस्थाको सहयोगमा उजुरी दिएकी हुन्। पीडित किशोरी हाल माइती नेपालको संरक्षण छिन्।