त्रिविको शाख जोगाइराख्‍न सबैको सहयोग आवश्‍यक : प्रधानमन्त्री देउवा

त्रिविको शाख जोगाइराख्‍न सबैको सहयोग आवश्‍यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको शाख गिर्न नदिन सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

शुक्रबार त्रिविको ६३औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति देउवाले सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो सन्दर्भमा आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ। समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो।’

मुलुकमा उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्न आजभन्दा ६३ वर्षअघि त्रिभुवन विश्वविद्यालयको स्थापना भएको हो। अनेक समस्या र दबाब झेल्दै आजसम्म आइपुग्‍दा त्रिविले लाखौंको सङ्ख्यामा दक्ष र उच्च जनशक्ति विकास गरी राष्ट्रलाई योगदान पुर्‍याएको छ।

 त्यस्तै, प्रधानमन्त्री देउवाले विश्वविद्यालयबाट सञ्चालित उच्च शिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए।