जापानका पूर्वप्रधानमन्त्रीलाई गोली हान्ने को हुन्?

जापानका पूर्वप्रधानमन्त्रीलाई गोली हान्ने को हुन्?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेमाथि हमला भएको छ।

चुनावी भाषणका लागि नारा सहरमा गएका बेला आवेमाथि एक व्यक्तिले गोली प्रहार गरेका हुन्। प्रहरीले उनीमाथि गोली प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ।  ती आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ।

उनी नारा सिटीकै बासिन्दा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। 

आवे भाषण गरिरहेको अवस्थामा पछाडिबाट छातीमा गोली प्रहार भएको थियो। आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेतामा पर्छन्।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डेमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बनेका थिए। उनले आफ्नो स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।