इटलीमा ७० वर्षयताकै ठूलो खडेरी, पाँच वटा क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा

इटलीमा ७० वर्षयताकै ठूलो खडेरी, पाँच वटा क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा

इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । 

इमिलिया–रोमाग्ना, फ्रिउली–भेनेजिया जिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा आपत्काल घोषणा गरिएको हो । यो उपत्यकालाई आवश्यक आपत्कालीन कोषको समेत घोषणा गरिएको छ । यो क्षेत्र इटलीको कृषि उत्पादनको झन्डै एक तिहाइ हो र ७० वर्षको सबैभन्दा खराब खडेरीबाट ग्रस्त बनेको छ ।

इटलीले यो वर्ष असामान्य गर्मीको लहर र खडेरीको सामना गरिरहेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रभावित नागरिकलाई राहत र सहायता प्रदान गर्नु आपत्कालीन अवस्थाको उद्देश्य रहेको सरकारले जनाएको छ । 

खडेरी सामना गर्न सरकारले थप कदम चाल्न सक्ने र गर्मी मौसमको तापलहरले स्थानीयलाई समस्या भएको समाचार संस्था रोयटर्सले जनाएको छ । आपत्कालीन अवस्था घोषणाबाट क्षतिको क्षतिपूर्ति र सार्वजनिक सुरक्षाको ग्यारेन्टी गर्न सहयोग पुग्ने अपेक्षा छ । 

खडेरीकै कारण विद्युत् उत्पादनमा ह्रास आएको छ । जलविद्युत् प्लान्टहरु प्रायः उत्तरी क्षेत्रमा छन् र राष्ट्रिय ऊर्जा उत्पादनको झन्डै २० प्रतिशत योगदान पुर्याएका छन् ।