१५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने : काठमाडौं धाइराख्न नपर्ने

१५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने : काठमाडौं धाइराख्न नपर्ने

राहदानी विभागले १५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने भएकाले काठमाडौं धाइराख्न नपर्ने स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ ।

विभागले आइतबार सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाएको जानकारी दिएको छ। 

हाल दैनिकरुपमा विभागमा आवेदन दिनेको संख्या करिब २ हजार चार सय रहेको छ । विभागले हाल दैनिकरुपमा ६५०० राहदानी वितरण गर्दै आएको छ।

‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ ।

विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४०० जनाले अनलाईनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको छ ।

सबै सेवाग्राहीहरु विहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनहन पनि अनरोध छ,विभागले जारी गरेको सूचनामा भनिएको छ।

आजै राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा ढिलासुस्ती र अस्तव्यस्त भएको भन्दै सरकारलाई दबाब दिन राहदानी विभाग अगाडि प्रदर्शन गरेको छ।