कठिन अभ्यास खेलमा नेपाल विजयी

कठिन अभ्यास खेलमा नेपाल विजयी

भारतमा अभ्यासरत नेपाली यू–१९ क्रिकेट टोलीले कठिन जित हात पारेको छ । आज भएको खेलमा भारतको आन्ध्र प्रान्तको यू–१९ क्रिकेट टोलीलाई नेपाली युवा टोलीले ९ रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यसअघि ५० ओभर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २२१ रन बनायो । टोलीको लागि अलराउन्डर कुशल मल्लले नटआउट रहँदै ५७ बलमा ४८ रन बनाए । २ चौका र २ छक्का प्रहार गरेका कुशलले धराशायी भएको नेपाली इनिङलाई उकासेका थिए । 

कुशलले दशौं नम्बरका खेलाडी रसिद खानसँग ६७ रनको साझेदारी गरेपछि नेपालले रक्षा गर्न योग्य रन बनायो । रसिदले ४० बलमा ४ चौका र १ छक्का सहित ४१ रन बनाए । 

त्यस्तै पवन शर्राफ, रोहित पौडेल, भिम सार्की र रित गौतमले क्रमशः ३२, २२, १७ र १५ रन बनाए । आन्ध्रका लागि कार्थिक रेड्डी, एम माधव र जे दुर्गा कुमारले समान २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको आन्ध्रले पहिलो विकेटको लागि ९२ रनको साझेदारी गरेपनि नेपाली बलरहरुले आन्ध्रलाई लक्ष्य सम्म पुग्न दिएन । आन्ध्रले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्र बनाउन सक्यो। 

उसका लागि ओपनर नितेश कुमारले ७४ र हर्शबद्र्धनले ३६ रन बनाए । त्यस्तै रेड्डी र दुर्गा कुमारले २५ र २१ रन बनाए । 

नेपालको लागि पवन शर्राफ, कुशल मल्ल र भिम सार्कीले समान २ विकेट लिए भने कमल सिंह ऐरी, रसिद खान र सागर ढकालले समान १ विकेट लिए ।

मलेसियामा अप्रिल १० देखि २० सम्म आयोजना हुने यू–१९ विश्वकपको एसियाली छनौट  प्रतियोगिताको तयारी स्वरुप खेलिएको यस अभ्यास खेलको लागि  

१८ खेलाडी भारत लगिएको छ । कुल ४ अभ्यास खेलपछि १४ खेलाडी छनौट गरिने जानकारी प्राप्त भएको छ ।