नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

 नेपालले मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा आज कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन् ।नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन् । त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाईन ।

यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५र५ रन जोडिन् ।कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १र१ विकेट लिईन् ।

यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । समूह ’बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।कुवेतले २ खेलमा १ अंक जोडेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।