आफ्नै घरमा बन्दी बनेकी पत्नीसँग तीन वर्षपछि भेट

आफ्नै घरमा बन्दी बनेकी पत्नीसँग तीन वर्षपछि भेट

आफ्नै घरमा कैदी बनेकी पत्नीसँग पतिले तीन वर्षपछि भेट गर्न पाएका छन् ।भारतको महिला आयोगले तीन वर्षपछि उनीहरुको भेट गराउन सफल भएको हो । पतिका अनुसार पत्नीलाई उनकै आमाबुवाले तीनवर्षदेखि घरमा बन्दी बनाएर राखेका थिए ।

महिला आयोगमा उजुरी परेपछि आयोगले तुरुन्त आफ्नो टीम पठाएर पीडित महिलालाई उनको आमाबुवाको घरबाट छुटाएर ल्याएका थिए । उनीहरुको तीन वर्षपहिला नै विवाह भएता पनि युवतीका आमाबुवाले उनीहरुलाई सँगै बस्न नदिएको महिला आयोगकी स्वाती मालिवानले जानकारी दिइन् ।

बिवाहको सबै कागजात भएर पनि उनीहरुलाई सँगै बस्न नदिएपछि महिला आयोगमा पतिले उजुरी गरेका थिए । पत्नीलाई कहिलेकाँही मात्र पतिसँग कुराकानी गर्न दिने गरिएता पनि भेट्न भने रोक लगाइएको थियो । घरमा बुवाआमाले आफूलाई पिट्ने गरेको पीडित युवतीले बताइन् ।

मार्च १३ मा उद्धार गरिएकी युवती अहिले आफ्नो पतिको साथमा खुसीसाथ बस्दै आएकी छन् । उनीहरुको आमाबुवाले अहिले उनीहरुलाई दुःख दिन छाडेका छन् तर पनि सुरक्षाको दृष्टिले महिला आयोगले प्रहरीमा सुरक्षा दिनको लागि निवेदन दिएको भारतीय मिडियाले समाचार लेखेको छ ।