अमेरिकामा बन्दुक आक्रमणका घटनाविरुद्ध देशव्यापी प्रदर्शन

अमेरिकामा बन्दुक आक्रमणका घटनाविरुद्ध देशव्यापी प्रदर्शन

अमेरिकामा बन्दुक आक्रमणका घटना बढ्दै गएपछि प्रदर्शन भएको छ । व्यक्तिले बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न मागसहित देशव्यापी प्रदर्शन भएको हो ।

अन्धाधुन्ध हुने गोली प्रहारका घटनाबाट निर्दोष नागरिकले ज्यान गुमाउने घटना बढेपछि कडा कानुनको माग गरी दशौँ हजार मानिस सडकमा ओर्लिएका बीबीसीले जनाएको छ । उनीहरुले ‘म बन्दुकको आक्रमणबाट बच्न चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए । राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धी कानुन संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गर्नुभएको छ । गएको मे २४ अर्थात् जेठ १० गते एउटा विद्यालयमा भएको आक्रमणमा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो ।

गएको वर्ष त्यस्ता २६ वटा घटना भएको विवरण रहेको छ । यसअघि सन् २०१८ फेब्रुअरीमा फ्लोरिडाको एउटा विद्यालयमा १७ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले बन्दुक राख्न पाउने व्यवस्थामा कडाइको माग गरी प्रदर्शन गरेका थिए ।