सरकारी छाप र दस्तखत किर्ते आरोपमा सेनाका पूर्व जम्दार पक्राउ

सरकारी छाप र दस्तखत किर्ते आरोपमा सेनाका पूर्व जम्दार पक्राउ

धनगढी : सरकारी छाप र दस्तखत किर्ते प्रयोग गरि चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले सेनाका पूर्व जम्दार धन बहादुर गुरुङलाई पक्राउ गरेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका, ३ स्थित विकाश सेक्यूरेटि सर्विस प्रा.लि सञ्चालन गर्दै आएका कञ्चनपुरको पुनर्वास नगरपालिका, ५ का गुरुङलाई बुधवार पक्राउ गरि विहिवार सार्वजनिक गरिएको हो । 

उनले विकाश सेक्यूरेटि सर्विस प्रा.लिबाट भारत तथा नेपालका विभिन्न स्थानमा सुरक्षा गार्ड पठाउदै आएका थिए । 

गुरुङले कृर्ते नाईलन छाप, दस्तखत र चारित्रिक प्रमाण पत्र बनाई सुरक्षा गार्डलाई नेपाल तथा भारतमा कामका लागि पठाउने गरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि सिह वलीले बताए । 

गुरुङले के–के बनाएका थिए नक्कली ? 

प्रहरीका अनुसार पक्राउ परेका गुरुङले प्रहरी प्रधान कार्यालयको छाप, सशस्त्र प्रहरी प्रधान कार्यालयको छाप, कैलाली, कञ्चनपुर र सुर्खेत प्रहरीको नाईनल छाप नक्कली बनाएर प्रयोग गर्दे आएका थिए । 

त्यस्तै, गुरुङले प्रयोग गर्दै आएका विभिन्न स्कुल र प्रध्यानाध्यापकका छाप प्रहरीले बरामद गरेको छ । 

१४ जनाका कृर्ते छाप दस्तखत लगाई तयारी अवस्थामा राखेका चारित्रिक प्रमाण, कागज कृर्ते बनाउन प्रयाग गरिने कम्युटर, रंगिन प्रिन्टर लगायतका सामान बरामद गरिएको प्रहरी नायव उपरिक्षक वलीले जानकारी दिए । 

गुरुङलाई सहयोग गरेको भन्दै प्रहरीले कैलारी गाउपालिका, ६ का २८ वर्षका टिकाराम चौधरीलाई समेत पक्राउ गरेको छ । 
उनीहरु दुवै जनालाई सरकारी छाप दस्तखत कृर्ते गरेको अभियोगमा मुद्धा चलाईने वलीले बताए । 

सरकारी छाप र दस्तखत किर्ते प्रयोग गरि चारित्रिक प्रमाणपत्र बनाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेका सेनाका पूर्व जम्दार गुरुङले २०६७ सालमा रिटायर्ड भएपछि विकाश सेक्यूरेटि सर्विस प्रा.लि सञ्चालन गर्दै आएका थिए ।