१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई आजदेखि बुस्टर मात्रा दिइने

१२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई आजदेखि बुस्टर मात्रा दिइने

काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा दिने भएको छ ।

यसअघि १८ वर्षभन्दा माथि उमेरसमूहकालाई बुस्टर दिइएकोमा आजदेखि १२ देखि १७ वर्ष उमेरसमूहलाई पनि बुस्टर मात्रा दिन लागिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ ।

शाखाका प्रमुख डा। सागर दाहालले कुरा गर्दै १७ वर्षमुनिका बालबालिकामा मोर्डना र फाइजर खोप लगाइएको भएपनि बुस्टर मात्रा लागि दुईमध्ये जुनसुकै खोप लगाउन सकिनेछ ।

बुस्टर मात्रा लगाउन दुई मात्रा लगाएको तीन महिना पूरा हुनुपर्नेछ । चिकित्सकका अनुसार बालबालिकामा बुस्टरका लागि फाइजर खोपको ० दशमलव ३ एमएल र मोर्डर्ना खोप बुस्टरको रूपमा दिँदा ० दशमलव २५ एमएल दिनुपर्ने मापदण्ड छ ।

हालसम्म १८ वर्षभन्दा माथि उमेरसमूहमा बुस्टर खोपको रूपमा ५० लाख ५८ हजार नौ सय ६५ डोज खोप प्रयोगमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हालसम्म १२ वर्षमाथिका लक्षित जनसंख्यामा ८५ दशमलव ६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

यसबाहेक पाँच वर्षमुनिका बालबालिकामा पनि खोप दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ९ असारदेखि सुरु हुने खोप कार्यक्रममा दुई चरणमा गरी ४९ लाख बालबालिकामा फाइजर खोप लगाउने तयारी भइरहेको डा। दाहालले बताउनुभयो ।