फुटबल प्रतियोगिताको उपविजेतामा सीमित नेपाली राष्ट्रिय टोलीलाई विराटनगरमा सम्मान

फुटबल प्रतियोगिताको उपविजेतामा सीमित नेपाली राष्ट्रिय टोलीलाई विराटनगरमा सम्मान

पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेतामा सीमित नेपाली राष्ट्रिय टोलीलाई विराटनगरमा सम्मान गरिएको छ। प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको सरकारी निवासमा खेलाडी तथा अफिसियललाई सम्मान गरिएको हो।

तुम्बाहाङले प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु र नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्नु गौरवको विषय भएको बताए। चौथो पटक उपाधि विमुख बनेको नेपाली टोलीका सदस्यलाई खेलमा हारजीत हुने भएकाले निराश नहुन उनले आग्रह गरे।

उनले भने, ‘नेपाली टोलीले सबै खेलमा अनुशासनको परिधिभित्र रहेर उच्च प्रर्दशन गरेको छ। त्यसमा सिंगो प्रदेश सन्तुष्ट रहेको छ। खेलमा जित हार भन्ने कुरा हुन्छ। हारबाट आगामी दिनमा पाठ सिकेर अघि बढ्नुपर्छ।’

यस प्रकारको प्रतियोगिता आगामी दिनमा पनि आयोजना गर्नुपर्नेमा जोड दिँदै प्रमुख तुम्बाहाङले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको फुटबलको वातावरण बनाउन आग्रह गरेको तुम्बाहाङका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए।

प्रदेश १ सरकारले समेत उपविजेता बनेको नेपाली टिमका खेलाडी र अफिसियललाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। शुक्रबार सहिद रंगशालामा सम्पन्न उपाधि भिडन्तमा घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले स्तब्ध बनाउँदै भारतले पाँचौं पटक साफको उपाधि उचालेको थियो।