श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् डोटीका महिला

श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् डोटीका महिला

डोटी : बडिकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमानसँगै वडा नं २ खड्यौली पुगे । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेकी थिइन् । उनको श्रीमानले स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै थिए । तर कल्पनाका अगाडि उनको जिद्धीले काम गरेन ।

कल्पनालाई स्वास्थ्यकर्मीले पनि सम्झाउन खोजे तर उनले कसैको कुरा सुनिनन् । अन्ततः उनले श्रीमानको बन्ध्याकरणको साटो आफ्नै मिनिल्याप गराइन् । श्रीमानले स्थायी बन्ध्याकरण गरे कमजोर हुन्छ भन्ने विश्वासका कारण यहाँका महिला आफ्ना श्रीमानको बन्ध्याकरण गराउन दिँदैनन् ।

कल्पना त एकपात्र मात्र हुन यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलाले आफ्ना श्रीमानलाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाइएको छ ।

त्यस्तै जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा पनि महिलाले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिई बरु आफ्नै मिनिल्याप गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले बताए । ‘हामीले सञ्चालन गरेका कतिपए भ्याक्सेटोमी क्याम्पमा श्रीमतीले नै श्रीमान्को बन्ध्याकरण गर्न नदिने र आफ्नो गरराउने गरेका छन्’, उनले भने, ‘किन महिलाले यसो गरेका होलान् म त अचम्मित छुँ ।’

नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा नेपाल परिवार नियोजन सङ्घले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २१६ मध्ये १६७ महिला छन् ।

यो सङ्ख्या सेवा लिने कूल सङ्ख्याको ७७ प्रतिशत हुन आउँछ । प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको उक्त शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । उक्त गाउँपालिकामा जम्मा ६० ले मात्रै उक्त सेवा लिएका थिए ।

त्यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, केआइसिंह गाउँपालिकामा ११ मध्ये नौ महिला र शिखर नगरपालिकामा १० मध्ये छ महिलाले स्थायी बन्ध्याकरण गराएको नेपाल परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले बताए ।

स्थायी बन्ध्याकरण सुविधा लिनेमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायल गाउँपालिकामा १७ मध्ये १२ महिला र बडीकेदार गाउँपालिकामा २५ मध्ये १७ महिला छन् ।

बोगटान गाउँपालिकामा भने पुरुषको सङ्ख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् । पुरुषले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलामा परेको र यसले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको फुलाराले बताए ।