लोकसभा चुनाव २०१९ नजिकिँदै गर्दा उत्तरपूर्वी भारतमा मन्त्रीसहित २३ नेताले भाजपा छाडे

लोकसभा चुनाव २०१९ नजिकिँदै गर्दा उत्तरपूर्वी भारतमा मन्त्रीसहित २३ नेताले भाजपा छाडे

निर्वाचन नजिकिदैं गर्दा भारतको उत्तर–पूर्वी राज्यहरुमा भाजपालाई ठूलो झट्का लागेको छ । बितेको दुई दिनमा यी क्षेत्रका २३ नेताहरुले पार्टी छाडेका छन् । 

अरुणाचल प्रदेशमा मात्र दुई मन्त्री र ६ विधायकहरुसमेत २० नेताहरुले मंगलबार भाजपा छाडेर नेशनल पीपुल्स पार्टी प्रवेश गरे । 

भाजपा छाड्ने प्रमुख व्यक्तिमा राज्य गृहमन्त्री कुमार वाई, पर्यटन मन्त्री जारकार गामलिन, भाजपा महासचिव जरपुम गामबिन छन् । नयाँ नेताहरुको प्रवेशसँगै विधानसभामा अब एनपीपीको विधायकहरुको संख्या १३ भएको छ । 

राज्यको ६० सदस्यीय विधानसभामा अझै पनि भाजपासँग ४० विधायकहरुको समर्थन प्राप्त छ । अघिल्लो आइतबार भाजपाले राज्य विधानसभाको लागि ५४ सिटमा उमेद्वारको नाम घोषणा गरेको थियो । 
अरुणाचल प्रदेशमा अप्रिल ११ मा दुई लोकसभा सिटहरुको साथै विधानसभा चुनावको लागि पनि भोट हुदैंछ । 

मणिपुर, मेघालयमा पनि भाजपा सरकारमा छ एनपीपी
हाल राज्यमा एनपीपी र भाजपाको गठबन्धन सरकार छ । एनपीपी पूर्वोत्तर लोकतान्त्तिक गठबन्धनको एक सदस्य हो । तर यी दुई पार्टी अगामी लोकसभामा निर्वाचनमा गठबन्धन नगरेर अलग अलग लडिरहेका छन । 

मणिपुरमा पनि भाजपा र एनपीपीको गठबन्धन सरकार छ । नागाल्याण्डमा पनि दुई पार्टी नै सरकारका हिस्सेदार छन् ।  उता त्रिपुरा राज्यमा पनि भाजपा उपाध्यक्ष सुबल भौमिकसमेत भाजपाका तीन नेताले मंगलबार कांग्रेसमा प्रवेश गरे । कांग्रेसमा सामेल भएका दुवै नेता पूर्व मन्त्री हुन् । 

भाजपा छाड्ने भए पछि भौमिकले भनेका थिए ,“म त्यो पार्टीको बोझ बन्न चाहन्न जसमा आन्तरिक लोकतन्त्र छैन । यसैले मैले कांग्रेसमा फर्कने फैसला गरे ।” सन् १९७० को दशकको अन्त्यमा भौमिक कांग्रेसमै थिए । उनी कांग्रेसबाटै सन् २००८ मा विधायक बनेका थिए ।

सन् २०१३ मा राज्यको विधान सभा निर्वाचनमा कांग्रेसको हारपछि उनले कांग्रेस पार्टी छाडे र प्रगतिशिल ग्रामिण कांग्रेसको गठनको गरे । तर त्यसको एक वर्षपछि उनी भाजपा प्रवेश गरेका थिए ।