विराटनगर महानगरपालिको हाट खोलामा रहेको विराटेश्वर वृद्धाश्रममा महिला खेलाडी बिहीवार आमाहरूसँग आशिर्वाद लिँदै थिए ।
कसैले नमस्कार गर्दै गरेका, कसैले आफूलाई आशिर्वाद दिन भन्दै थिए । यसैगरी चलेको थियो, महिला खेलाडीको होली । एकातर्फ होलीको चहलपहल अर्कोतर्फ भारतसँगको खेललाई जित्नै पर्ने दबाबका बीच उनीहरू भन्दै थिए यो हाम्रो लागि ऐतिहासिक क्षण बनेको छ ।
नेपाली महिला टीमकी स्ट्राइकर साबित्रा भण्डारी वृद्धवृद्धाको आशिर्वादले भोलिको खेलमा नेपालको पक्षमा जीत हुने दाबी गर्छिन् । आफ्नो घर परिवारबाट टाढा रहेका खेलाडीलाई आफन्तको याद मेटाउन वृद्धाश्रमले सहयोग पुर्याएको थियो । त्यस्तै जेष्ठ नागरिकको आशिर्वादले भारतसँगको खेलमा जीतकोलागि हौसला प्रदान गर्ने अनिता बस्नेत बताउँछिन् ।
खेलाडीलाई उत्साह जगाउन प्रशिक्षण स्थलबाट सिधै विराटेश्वरी वृद्धाश्रममा पुगेका नेपाली टोली निकै नै उत्साहित छ । भारतसँगको खेलमा जीत आफ्नो पक्षमा ल्याउने दाबी गरेका नेपाली टोली नयाँ रणनीतिका साथ अगाडि बढ्ने दाउमा छ । नेपाली महिला फुटबल टीमकी कप्तान निरु थापाले एक आपसमा आमाहरूसँगको आशिर्वादले जितका लागि मनोबल बढाउने बताइन् ।
उता विराटनगरको शहीद रंगशालाबाट सिधै वृद्धाश्रममा पुगेका सबै खेलाडीहरू रमाइलो गरी वृद्धवृद्धासँग खुशी साटासाट गरिरहँदा एक खेलाडी भने रोइरहेकी थिइन् । शुरूमा सबै एक ठाउँमा हुँदा उत्साहित देखिएकी खेलाडी मञ्जीला सुब्बा भने रुँदै थिइन् । उनलाई परिवारको याद आएर रोएको हुनसक्ने अन्य खेलाडीले बताएका थिए ।