दार्चुलामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

दार्चुलामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुला शैल्यशिखरमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ। चुनावी प्रचारका क्रममा शैल्यशिखर नगरपालिका-९ नक्तडमा उनीहरुबीच झडप भएको हो।

झडपमा एमालेको प्रचारप्रसारमा प्रयोग गरिएको से १ ज २६७ नम्बरको बोलेरो जीपको सीसा फुट्नुका साथै चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घटना साम्य पार्न प्रहरी खटिँदा एमालेका कार्यकर्ताहरुले प्रहरी माथि नै ढुङ्गामुढा प्रहार गरेको बताइएको छ।  उनीहरुको ढुङ्गा लागेर म्यादी प्रहरी गोपालसिंह विष्टको शरिरमा चोट लागेको बताइएको छ।

यस्तै प्रहरीले एमालेका कार्यकर्ता जनक विष्ट र प्रकाश कोलीलाई नियन्त्रण लिएको पनि जनाइएको छ। झडपमा एमालेका कार्यकर्ता कृष्ण लुहार र राजु कोली सामान्य घाइते भएका छन्। अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ। दोहोरो झडप हुँदा दुबै पक्षका एक दर्जनभन्दा वढी कार्यकर्ताहरुलाई सामान्य चोटपटक लागेको र गाडीका सिसासमेत फुटेको मालिकार्जुन प्रहरीले जनाएको छ ।

घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।नेकपा एमाले शैल्यशिखरले  छिमेकी  जिल्ला बैतडीबाट ११ वटा गाडीमा आएका  कार्यकर्ताहरुलाई मदिरा खुवाएर झडप गराएको आरोप छ ।