ऐतिहासिक यात्रामा नेपाली क्रिकेट : पहिलो ओडिआई, नेपाल भर्सेस नेदरल्याण्ड्स

ऐतिहासिक यात्रामा नेपाली क्रिकेट : पहिलो ओडिआई, नेपाल भर्सेस नेदरल्याण्ड्स

काठमाडौँ – नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्यायको सुरुवात औपचारिक रुपमा बुधबारदेखि हुँदैछ । नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो एक दिवसीय क्रिकेट प्रतिस्पर्धामा बुधबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।

गएको चैतमा जिम्बावेमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो ।

नेदरल्याण्ड्ससँगको पहिलो एक दिवसीय खेल नेपाली समयानुसार बुधबार दिउँसो पौने ३ बजे बजे नेदरल्याण्ड्सको स्थित भिआरए मैदान, आम्स्टरडममा हुनेछ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो ।

नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो खेल हो ।

अनुभव


नेपालले पहिलो एक दिवसीय खेल खेल्न लागेको नेदरल्याण्ड नेपालभन्दा बढी अनुभवी छ । पछिल्लो पटक नेदरल्याण्ड्ससँग नेपाल जिम्बावेमा मार्च २०१८ मा भएको विश्वकप छनौटमा ४५ रनले पराजित भएको थियो ।

यसअघि भिआरए मैदानमा पछिल्लो पटक नेदरल्याण्ड्स र स्कट्ल्याण्डबिच ट्वेन्टी–ट्वेन्टी खेल भएको थियो र त्यसमा स्कटयाण्ड विजयी भएको थियो ।

टोलीमा को को ?


नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् ।

पारससँगै नेपाली टोलीमा युवा स्टार सन्दिप लामिछाने, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् ।

पिटर सिलारको कप्तानीमा रहेको नेदरल्याण्ड टोलीमा वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर र ड्यानियल टेर ब्राक छन् ।


नेदरल्याण्ड्स जानुअघि नेपाली टोलीले इङ्ल्याण्डको लर्ड्समा स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब, एमसिसी तथा नेदरल्याण्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी शेङ्खला खेलेको थियो ।

संयुक्त रुपमा ट्रफी उचाल्दै नेपाल र नेदरल्याण्ड्सका कप्तान । तस्बिर : लर्ड्स डट ओआरजी

वर्षाका कारण एमसिसीसँगको खेल ६–६ ओभरमा छोट्याइएको थियो । जसमा नेपाल विजयी भएको थियो । नेदरल्याण्डसँगको खेल बिना निष्कर्ष सकिएको थियो र एमसिसीलाई हराएका नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता बने ।

नेपाल र नेदरल्याण्डबिच आम्स्टरडममा दोस्रो एक दिवसीय खेल साउन १८ गते हुनेछ ।

यहाँसम्मको यात्रा


चार वर्षअघि बंगलादेशमा नेपाल र नेदरल्याण्ड्स ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्न पुगेका थिए । नेपालले आइसिसीको प्रमुख च्याम्पियनसिपमा पहिलो पटक खेल्दै थियो, एसोसिएट राष्ट्रका रुपमा।

अर्को तर्फ एक दिवसीय मान्यता गुमाएर आएको नेदरल्याण्ड्स थियो ।

नेपालले प्रारम्भिक चरणका तीन खेलमा दुई खेलमा जित निकाल्यो । नेपाली टोलीले एसियाका दुई एसोसिएट प्रतिस्पर्धी हङकङ र अफगानिस्तानलाई पाखा लगायो । यस्तै बंगलादेशलाई कडा चुनौती दियो । नेदरल्याण्ड्सले पनि दुई खेलमा जित निकाल्यो ।

फरक तरिकाले तर दुवै देशलाई त्यो प्रतिस्पर्धाले क्रिकेटमा भविष्य छ भन्ने देखायो । नेपाली क्रिकेटको व्यवस्थापन समस्या थियो र छ । आइसिसीले निलम्बित गरेको अवस्था । नेदरल्याण्ड्सले पनि एक दिवसीय मान्यता गुमाएर आइसिसीको सहयता गुमाएको अवस्था ।

चारवर्षपछि दुवै देशले आफ्नो सफलताको उत्सव मनाउँदै छन् । नेपालले पहिलो पटक एक दिवसीय खेल खेल्न लागेको छ । नेदरल्याण्ड्सले पनि चार वर्षभन्दा बढी समयपछि फेरि एक दिवसीय खेल खेल्दैछ ।

नेदरल्याण्ड्सले निकै अनुशासित र स्थिर रहेर एक दिवसीय स्टाटस पाएको हो । पछिल्लो साढे दुई वर्षमा नेदरल्याण्ड्स मात्रै दुई पटक पराजित भएको छ ।

उसले विश्व क्रिकेट लिग च्याम्पियनसिप जित्यो । गएको डिसेम्बरमा दुबईमा भएको खेलमा नामिबियालाई हराएर उ विजेता बनेको थियो ।

नेपालले भने आँट र धैर्यताले यो यात्रा तय गरेको हो । डिसेम्बरमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट रेलिगेशन भयो । तर नेपाली टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन दुईमा राम्रो नतिजा निकाल्यो ।

त्यसपछि विश्वकप छनौटका तीन खेलमा लगातार हार । नेपाल फेरि लयमा फर्कियो । हङकङ र पपुवान्युगिनीलाई हरायो र एक दिवसीय मान्यता पायो ।

दबाब भन्दा उत्साह


एउटा सफलताले दिएको अवसरको खेल भएकाले बुधबारको प्रतिस्पर्धामा दबाब वा चुनौती भन्दा पनि उत्साह छ दुवै टिममा ।

नेपालका कप्तान पारस खड्काले भनेका छन्, ‘हामीले कम्तिमा चार वर्षका लागि ओडिआई स्टाटस पक्का गरेका छौँ । यसले हामीलाई स्वतन्त्र बनाएको छ । टिमका खेलाडीहरुले यसलाई इन्जोए गरिरहेका छन् ।’

पारसले अघि भने, ‘विश्व क्रिकेट लिग प्रणालीबाट आउनु, हरेक खेल जित्नु पर्ने थियो, एक खराब दिनले सबै मेहनतलाई टुटाउन सक्थ्यो, हामी खेलाडीले सोच्थ्यौँ–हाम्रो करिअरको अन्त्य यस्तै हो ? जवाफ– हो, होइन आउँथ्यो । अर्थात हामी धेरै उकाली ओरालीबाट गुज्रिएका छौँ । आज हामी यहाँ पहिलो ओडिआई खेल्न आएका छौँ । पक्कै पनि यो विशेष हुनेछ हाम्रा लागि ।’

नतिजा आफ्नो पक्षमा नआए पनि फेरि मेहनत गरेर आफूलाई प्रमाणित गर्ने ठाउँ रहेको पारसले बताए । उनले भने, ‘तर पहिलो ओडिआई हो, हामी पक्कै पनि जितसहित सुरुवात गर्न चाहन्छौँ । जित पक्कै पनि रोमाञ्चक हुनेछ । ऐतिहासिक हुनेछ ।’

नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले यो खेल आफूहरुले गुमाएर फेरि पक्डिएको बाटोमा नयाँ यात्रा रहेको बताए । यसले गर्दा आफूहरु उत्साहित रहेको र अँध्यारोबाट उज्यालो तर्फको यात्रामा यो उत्साहले उर्जाको काम गर्ने उनको भनाई छ । -देशसञ्चार अनलाईबाट साभार