वातावरण संरक्षणसम्बन्धी विधेयक पारित

वातावरण संरक्षणसम्बन्धी विधेयक पारित

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको मंगलवारको  बैठकले प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५लाई पारित गरेको छ ।

प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदनसहितको उक्त विधेयक सभाबाट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि उक्त प्रस्तावमाथि भएको छलफलमा भाग लिने प्रदेशसभा सदस्यले कुनै पनि विकासका योजना अगाडि बढाउँदा वातावरण संरक्षणको विषयमा गम्भीर ध्यान दिँदै हरेक योजना वातावरणमैत्री हुनुपर्ने बताउनुभएको थियो ।

छलफलमा सत्ता पक्ष नेकपाका मानबहादुर धामी र नन्दबहादुर साउद, प्रतिपक्ष नेपाली काङ्ग्रेसका भरतबहादुर खड्का र राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी राना थारुले भाग लिनुभएको थियो ।

यसै गरी आजकै बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । 

उक्त प्रस्तावमाथि भएको छलफलमा सत्तापक्ष नेकपाका रतनबहादुर थापा, शान्ति नेपाली र पूर्णा जोशी, प्रतिपक्ष नेपाली काङ्ग्रेसका गोविन्दराज बोहरा र राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही चैत १० गते दिउँसो २ बजे बस्ने छ ।