रुसद्वारा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

रुसद्वारा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

युक्रेनमाथिको आक्रमण जारी रहँदा रुसले आणविक हतियार बोक्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

रुसको सुदूर उत्तर पश्चिममा रहेको प्लेसेत्स्क कस्मोड्रोमबाट प्रक्षेपण गरिएको ‘सर्माट’ नामक क्षेप्यास्त्रले ६ हजार किलोमिटर टाढा सुदूर पूर्वी रुसको कामचत्का प्रायद्वीपमा लक्षित निशानामा प्रहार गरेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधनमार्फत क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका हुन् । उनले परीक्षण सफल भएकोमा रुसी सेनालाई बधाई समेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘म सर्माट अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेकोमा तपाईँहरूलाई बधाई दिन्छु ।’ टेलिभिजन सम्बोधनमा पुटिनले भने ।

‘यो निकै अद्वितीय हतियारले हाम्रो सैन्यबलको लड्ने क्षमतालाई वृद्धि गर्नेछ, बाहिरी खतराबाट रुसलाई विश्वसनीय सुरक्षा प्रदान गर्नेछ र आक्रामक बयानबाजीको उत्कर्षमा रहेका केहीलाई हाम्रो मुलुकविरुद्ध धम्की दिनुअघि सोच्न बाध्य बनाउनेछ ।’