मारिपोलमा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न रुसले फेरि दियो 'अल्टिमेटम'

मारिपोलमा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न रुसले फेरि दियो 'अल्टिमेटम'

रुसको रक्षा मन्त्रालयले घेराबन्दीमा रहेको शहर मारिपोलमा रहेको युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पण गर्न फेरि अल्टिमेटम दिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ११ जिएमटी (नेपाली समय अनुसार बेलुका पौने पाँच) सम्म युक्रेनी सुरक्षाकर्मीलाई आत्मसमर्पणका लागि रुसले समय दिएको हो ।

रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘मानवीय सिद्धान्तका आधारमा रुसी सशस्त्र बल पुनः प्रस्ताव गर्न चाहन्छ कि युक्रेनी राष्ट्रवादी लडाकु र विदेशी लडाकुले बुधबार दिउँसो २ बजे (मस्को समय) सम्ममा हतियार बिसाएर आत्मसमर्पण गर्नु होला ।’

यसअघि मंगलबार पनि रुसले यस्तै प्रस्ताव गरेको थियो । कुनै पनि युक्रेनी सैनिक वा सुरक्षाकर्मीले हतियार बिसाएर आत्मसमर्पण नगरेको रुसी रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

रुसको साथ पाएका लडाकुहरुले मारिपोलको एजोभ्स्ताल स्टिलवर्कमा रहेका युक्रेनी सैनिक र सर्वसाधारणमाथि आक्रमणको प्रयास गरिरहेको उल्लेख छ । त्यहाँ युक्रेनी सुरक्षाकर्मी र स्थानीय बासिन्दाले रुसी सैनिक र रुसको समर्थन पाएका लडाकुलाई रोक्न सफल भएको दाबी छ ।