मारिउपोलमा रुसद्वारा युक्रेनी फौजलाई आत्मसमर्पणको प्रस्ताव

मारिउपोलमा रुसद्वारा युक्रेनी फौजलाई आत्मसमर्पणको प्रस्ताव

रुसले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ । रुसी रक्षामन्त्रालयले युक्रेनी फौजलाई आत्मसमर्पण गर्नका लागि मस्कोका समयअनुसार ६ बजे बिहानदेखिको समय दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

हाल मारिउपोलमा जारी लडाइ शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ । सोही क्षेत्रको रक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्नका लागि रुसले शनिबार प्रस्ताव गरेको थियो ।

प्रस्तावअनुसार युक्रेनी पक्षले आत्मसमर्पण गरेको खण्डमा उनीहरुलाई निशस्त्रीकरण पछि दिउँसो १ बजेसम्म एजोभस्तल क्षेत्र छाड्न दिइनेछ ।

‘जो कसैले पनि हतियार बिसाउँछ, उसको ज्यान जोगिने निश्चित छ ।’ रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसबारे युक्रेनी पक्षले सार्वजनिक रुपमा कुनै टिप्पणी नगरेको बताइएको छ । यद्यपि शनिबारमात्रै युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले रुसले ‘मारिउपोलका हरेकलाई जानाजान ध्वस्त बनाउने प्रयासमा रहेको’ बताएका थिए ।