तीन आईजीपी फेरिनै लाग्दा पनि निर्मला पन्तका हत्यारासम्म पुग्न प्रहरी असफल

तीन आईजीपी फेरिनै लाग्दा पनि निर्मला पन्तका हत्यारासम्म पुग्न प्रहरी असफल

धनगढी । नेपाल प्रहरीका दुईजना आईजीपीले अवकाश र एकजना अवकाशको मुखमा हुँदा पनि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारासम्म पुग्न प्रहरी असफल भएको छ ।

०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्खाटामकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेलापरेको थियो । साउन ९ गते साथीको घर जान निस्किएकी निर्मला साउन १० मा घरभन्दा केही दूरीमा रहेको उखुबारीमा मृत भेटिएकी थिइन् ।

तत्कालीन समयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थिए । उनीपछि ठाकुरप्रसाद ज्ञवाली आईजीपी भए । दुवैले अवकाश पाइसकेका छन् । अवकाशको दिन आईजीपी ज्ञवालीले निर्मला हत्या प्रकरणको अनुसन्धान नटुंगिएकोमा आफूलाई पश्चाताप भएको बताएका थिए ।

ज्ञवालीपछि शैलेश थापा क्षेत्री आईजीपी छन् । क्षेत्री यही वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन् । तीनजना आईजीपी फेरिन लाग्दा पनि निर्मला हत्यामा संलग्नको पहिचान गर्न प्रहरी असफल भएको छ ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा लापरबाही भएको भन्दै केही प्रहरी अधिकारीहरू कारबाहीमा समेत परेका थिए । सुरुमा प्रहरीले भीमदत्त नगरपालिका–१०, बाँगफाटामा दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । तर, उनको डीएनए ‘म्याच’ नभएपछि उनी रिहा भएका थिए ।

निर्मला हत्या अनुसन्धानमा सुरुवाती समयदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली कञ्चनपुरमै सक्रिय छ । तर, अपराधीसम्म पुग्ने ‘क्लु’ हत्या भएको तीन वर्षसम्म पनि प्रहरी भेट्टाउन सकेको छैन ।

हालसम्म प्रहरीले करिब १०० जनाको डीएनए परीक्षण गरिसकेको छ । प्रहरी अधिकारीहरूले निर्मला हत्या अनुसन्धान सफलताको बाटोमा पुग्न कठिन रहेको बताउँदै आएका छन् ।