सार्वजनिक सवारीमा आजदेखि नयाँ भाडादर लागू

सार्वजनिक सवारीमा आजदेखि नयाँ भाडादर लागू

वाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारीसाधनको नयाँ भाडादर आजदेखि लागु भएको छ । छोटो दूरीका सार्वजनिक सवारीमा नयाँ भाडादर लागु भएको हो । बढेको भाडादरअनुसार अब गाडी चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्नेछ ।

गत वर्ष चैत २४ गते वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उपत्यकालगायत वाग्मती प्रदेशभित्र चल्ने सवारीमा भाडा बढाउने निर्णय गरेको थियो ।

नयाँ भाडादरअनुसार उपत्यकाभित्र किलोमिटरका आधारमा भाडा तिर्नुपर्नेछ । पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।

यसअघि, सरकारले चढ्नेबित्तिकै १८ रुपैयाँ भाडादर कायम गर्दा व्यवसायीहरूले बजारमा दुई रुपैयाँ खुद्रा नपाइने भन्दै २० रुपैयाँ असुल्दै आएका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले लामो दूरीमा गुड्ने मालवाहक र यात्रुवाहक सवारीमा १० देखि १५ प्रतिशतसम्म भाडा बढाएको हो ।