‘तानाशाह’ पुटिनले युक्रेनमा जातीय नरसंहार गरे : बाइडेन

‘तानाशाह’ पुटिनले युक्रेनमा जातीय नरसंहार गरे : बाइडेन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जातीय नरसंहार गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । बाइडेनले पुटिनलाई ‘तानाशाह’ भन्दै पहिलो पटक यस्तो आरोप लगाएका हुन् ।

उनले पुटिनलाई बारम्बार युद्ध अपराधी भन्दै आएका थिए । तर, मंगलबार अनौपचारिक सम्बोधन गर्ने क्रममा बाइडेनले रुसमाथि जातीय नसंहारको आरोप लगाएका हुन् ।

पुटिनका क्रियाकलापले आफूले नरसंहार भन्नुको कारण स्पष्ट हुँदै गएको उनको भनाइ छ । “हो, मैले यसलाई नरसंहार भनेको छु किनभने पुटिनले युक्रेनी हुन सक्षम हुने विचारलाई मेटाउन खोजिरहेका छन् र यो प्रमाणहरू बढ्दै गएको छ,” मंगलबार एयर फोर्स वानमा चढ्ने तयारी गर्दैगर्दा पत्रकारहरूलाई बाइडेनले भने ।

यसअघि बाइडेनले युक्रेनको बुचा तथा अन्य नगरहरूमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए । रुसले युक्रेनमा गैरसैनिकलाई निसानामा पारेको अस्वीकार गर्दै आएको छ ।