राष्ट्रसंघको मानव अधिकार परिषदबाट रुस निलम्बित

राष्ट्रसंघको मानव अधिकार परिषदबाट रुस निलम्बित

रुसलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषदबाट रुस निलम्बित भएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेर मानव अधिकार उल्लघन गरेकाले मानव अधिकार परिषदमा बस्न दिन नहुने भन्दै रुसलाई निलम्बन गरिएको जनाइएको छ। महासभामा भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो। त्यसैगरी, ५८ देश मतदानमा सहभागी भएका थिएनन् ।

रुसलाई मानव अधिकार परिषदबाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुसी व्यक्त गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनुपर्नेमा जोड दिए। ‘संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा रुसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुसी लागेको छ।

राष्ट्रसंघीय महासभामा रुसविरुद्ध मतदान गर्नेहरूलाई धन्यवाद छ,’ राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। परिषदबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रिय रूपमा अर्थपूर्ण घटना भएको उनले बताएका छन्।