रुसलाई राष्ट्रसंघको मानवअधिकार परिषदबाट हटाउन पहल

रुसलाई राष्ट्रसंघको मानवअधिकार परिषदबाट हटाउन पहल

अमेरिका र बेलायतले रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट हटाउनका लागि पहल गरिरहेको बताएका छन् । युक्रेनी शहर बुचामा रुसी सैनिकहरूले सर्वसाधारणको सामूहिक हत्या गरेको आरोप लागेपछि यस्तो कदम चाल्न लागिएको हो । 

‘मानवअधिकार परिषदमा रुसको सहभागिता एक मजाक हो,’ राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा टमस–ग्रीनफील्डले बताइन् । उनले युक्रेनको छिमेकी मुलुक रोमानियामा अप्रिल ४ मा पुग्दा यो बयान दिएकी हुन् । 

‘यो गलत भएकाले राष्ट्रसंघको साधारणसभाले रुसलाई हटाउन मतदान गर्नुपर्छ,’ उनले थपिन् । जेनेभामा रहेको परिषदबाट रुसलाई हटाउने हो भने साधारणसभाका १९३ सदस्यमध्ये कम्तीमा दुई तिहाइले मत दिनुपर्ने हुन्छ ।

कुनै मुलुक परिषद्को सदस्य भएको बेलामा लगातार मानवअधिकार उल्लंघन गरेमा उसलाई हटाउनका लागि प्रस्ताव ल्याउन सकिन्छ । रुस विगत दुई वर्षदेखि परिषद्को सदस्य छ र उसको कार्यकाल अझै एक वर्ष बाँकी छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि राष्ट्रसंघको साधारणसभाले रुसलाई निन्दा गर्ने दुईवटा प्रस्ताव पारित गरेको छ । त्यसको पक्षमा कम्तीमा १४० भोट परेका छन् ।