एआईजीमा बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

एआईजीमा बढुवाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

नेपाल प्रहरीको एआईजीमा भएको बढुवाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा  कुमार चुडालको एकल इजलासले निवेदनको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

अदालतले दुबै पक्षलाई चैत २८ गतेका लागि छलफलका लागि बोलाएको छ । यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।  उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका हुन् ।  ।

मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो ।

 तर, उनीहरूभन्दा वरियतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए । पाण्डे नेतृत्वको समितिले वरियता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् ।