सेती नदीमा पहिलो पटक जलयात्रा, अब व्यवसायिक सेवा सुरु गरिने

सेती नदीमा पहिलो पटक जलयात्रा, अब व्यवसायिक सेवा सुरु गरिने

बझाङ । बझाङको सेती नदीमा पहिलो पटक जलयात्रा (र्‍याफ्टिङ) सुरु भएको छ । तल्कोट गाउँपालिकामा पर्ने पर्यटकीय स्थल तपोवन (तातोपानीका कुण्ड रहेको ठाउँ) बाट जयपृथ्वी नगरपालिकामा पर्ने सदरमुकाम चैनपुरसम्म नियमित सेवा दिने गरी जलयात्राको सुरुवात भएको हो ।

एक्सप्लोअर सुदूरपश्चिम टुर एन्ड एडभेन्चर प्रालि र उद्योग वाणिज्य संघ बझाङले कर्णाली र्‍याफ्टिङ एडभेन्चर प्रालिसँग सहकार्य गर्दै शुक्रबारबाट सेती नदीमा परीक्षण गरेको हो ।

तपोवनदेखि चैनपुरसम्म करिब ८ किलोमिटरमा गरिएको परीक्षण सफल भएको र शनिबारबाट नियमित व्यवसायिक सेवा सुरु गरिने एक्सप्लोअर सुदूरपश्चिम टुर एन्ड एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक किशोर खड्काले जानकारी दिए ।

‘करिब १ घण्टामा ८ किलोमिटर दूरी पार भयो । यो दूरीमा कतै पनि कुनै खालको अवरोध छैन । जलयात्राको लागि राम्रो सम्भावना भएको पायौँ । अब नियमित सेवा सुरु गर्न समस्या छैन‚’ उनले भने । साहसिक पर्यटन विधाअन्तर्गत पर्ने र्‍याफ्टिङका लागि सेती नदी अन्य नदीभन्दा उपयुक्त र सुरक्षित भएको रिभर गाइड कालु चौधरीले बताए ।