प्रदेश सभाको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च बारे छलफल

प्रदेश सभाको  बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च बारे छलफल

सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गत आर्थिक बर्षको अल्पकालीन बजेटमा गरेको खर्च बारे सचिवसित छलफल गरेको छ ।

समितिको बिहीबार बसेको बैठकमा मन्त्रालयका सचिव मेघनाथ काफ्लेसित गत आर्थिक बर्षमा भएको अध्ययन तथा अनुसन्धान शिर्षकको खर्च माथि छलफल भएको हो ।

बैठकमा सचिव काफ्लेले प्रदेश भित्र मन्त्रालय अन्तर्गत पर्ने आठ बिषयगत कार्यालय अन्तर्गतको ३५ वटा आयोजनाको सम्भाब्यता अध्ययन गरिएको जानकारी दिनुभयो । सम्भाब्यता अध्ययन शिर्षकममा रहेको २ करोड २५ लाख बजेटमा १ करोड ८१ लाख १२ हजार रुपैया अध्ययनमा खर्च भएको सचिव काफ्लेले लेखा समितिलाई जानकारी दिनुभएको हो ।

गत बर्ष अध्ययन भएका आयोजनामध्ये चालू आर्थिक बर्षमा ४० प्रतिशतमा मात्रै बजेट बिनियोजन भएको उहाँले बताउनुभयो । सम्भाब्यता अधययन गरिएका आयोजनाहरुको अध्ययनमा पारदर्शिता कत्तिको थियो भन्ने कुरामा समेत अध्ययन हुनुपर्ने समितिका सदस्य मान बहादुर धामीले बताउनुभयो । पद्धति बसाउने बेला भएकोले ध्यान पु¥याउनुपर्ने बताउँदै सांसद धामीले देखावटी रुपमा सम्भाब्यता अध्ययन हुने गरेको आरोप लगाउनुभयो ।

समितिका सदस्य अमर साउँदले अध्ययनका नाममा शंकास्पद खर्च हुने प्रवृति देखिएकोले लगानी खेर जाने सम्भावना रहेको बताउनुभयो । समितिका सभापति कुमारी नन्दा बमले मन्त्रालयले उपलब्ध गराएको खर्च बिबरण फेरी अध्ययन गरिने र आवश्यक परे मन्त्रीलाई समेत छलफलका लागि बोलाइने बताउनुभयो ।

मन्त्रालयले प्रदेश सरकारको क्षमता भन्दा माथि रहेका आयोजनामा पनि अध्ययन गरेको देखिएको छ । लेखा समितिमा यी बिषयहरुमा मसिनो रुपमा अध्ययन गरेर निष्कर्षमा पुगिने सभापति बमले बताउनुभयो ।