हिरासतमा रहेका पूर्वप्रहरी अधिकारीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

हिरासतमा रहेका पूर्वप्रहरी अधिकारीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

कञ्चनपुर : जिल्ला अदालत कञ्चनपुरले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरुलाई धरौटी माग्ने आदेश गरेको छ।

न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश गरेको छ। डिएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश गरेको हो।

उनीहरूसँग यातनामा ५/५ लाख र सार्वजनिक न्यायमा ४/४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको छ। इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख  र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको  हो।

जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीकाअनुसार उनीहरूले धरौटी बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन्।  मुलुकी ऐनको नयाँ व्यवस्थाअनुसार ६ जना प्रहरीहरुलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो। एसपी दिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने अदालतमा उपस्थित भएका थिएनन्।

उनीहरुलाई २१ दिनभित्र अदालत उपस्थित हुन म्याद थप गरिएकाे छ भने प्रहरीले फरारकाे सूचीमा पनि राखेकाे छ। अदालतमा उपस्थित भई बयान दिनेमा डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्।

निर्मला हत्या प्रकरणमा अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै २ वटा छुट्टाछुट्टै मुद्दा गत पुस ३ गते दर्ता भएको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा २ वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो।

सोही घटनाको बयानका लागि कञ्चनपुर अदालतले बोलाएपछि प्रहरीलाई अदालतमा उपस्थित गराइएको थियो। उक्त घटनामा चरम लापरबाही गरेको भन्दै सरकारले एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाट हटाएको थियो।

अन्य प्रहरी भने निलम्बनमा परेका थिए। त्यसपछि उनीहरुले मन्त्रिपरिषद्‍मा पुनर्वाहलीको माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनउपर अहिलेसम्म कुनै कामकारबाही भएको छैन। गत साउन १० गते साथीको घरमा जान्छु भनेर हिँडेकी बालिका पन्त भोलिपल्ट ११ गते नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। उनलाई बलात्कारपछि हत्या गरिएको बताइए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।