सरकारी जागिरेदेखि धनगढीमा पक्की घर हुनेलाई समेत गरिब घर परिचय पत्र

सरकारी जागिरेदेखि धनगढीमा पक्की घर हुनेलाई समेत गरिब घर परिचय पत्र

धनगढी : गरिब घर परिचय पत्र वितरण गरिदैछ भनेर वडा कार्यालय पुगेका धनगढी उपमहानगरपालिका, ६ विजुलियाका बुद्धिराम चौधरीले अति गरिब परिचय पत्र पाएका छन् ।

शुक्रवार जब उनको हातमा वडा कार्यालयका कर्मचारीले अति गरिब घर परिचय पत्र दिए, तब उनी अच्चममा परे । धनगढीमा पक्की घर सहित डेढ बिघा भन्दा बढी जग्गा, एक ईट्टा उद्योग, ट्रयाक्टर छन् बुद्धिरामसग । तर, सरकारले भने उनलाई अति गरिब घर परिचय पत्र दियो । 

उनले भने, ‘सरकारले अति गरिब परिचय पत्र दियो । दिएपछि नलिने कुरै भएन, लिए ।’धनगढी, ६ कै रामप्रसाद चौधरी । उनीसँग १५ कट्टा जग्गा छ । दुई छोरा जागिरे चौधरी अवकाश प्राप्त कर्मचारी पनि हुन । 

सम्पतिमा धनी रामप्रसादलाई सरकारले गरिब घर परिचय पत्र दिएर गरिब बनाएको छ । उनले पनि मध्यम गरिब परिचय पत्र पाएका छन् । 

यी त केवल केही उदाहरण मात्रै हुन, असार ४ गतेदेखि धनगढी उपमहानगरपालिकामा पनि सुरु गरिएको गरिब घर परिवार परिचय पत्रले धनीलाई गरिब बनाएको छ । 

धनगढीमा ५ हजार ८ सय ८५ घरधुरीलाई परिचयपत्र वितरण गरिदैछ । धनगढीमा २ हजार ८ सय ५८ परिवारलाई अति गरिब, १ हजार ८ सय ३७ जनालाई मध्यम र १ हजार २ सय ९० जनालाई सामान्य गरिबको श्रेणीको परिचय पत्र वितरण गरिदैछ । तर, सामान्यदेखि अति गरिबको सुचीमा सरकारी जागिरेदेखि जमिनदारको नाम समावेश छ । 

अर्का स्थानीय जयराम चौधरी आफू सरकारी जागिरे हुन् । उनको धनगढीमै पक्की घरसहित बहुमूल्य जग्गा रहेको छ । तर, बिहीबार उनले धनगढी उपमहानगरपालिकाले वितरण गरेको गरिवघर परिचयपत्र अन्तर्गत अतिगरिवघरको परिचयपत्र पाए ।

धनगढीकी देवसरा ऐरले भनिन्, ‘मेरा श्रीमान् घर गुजारा चलाउनका लागि रातदिन भारतमा भाडा माझदैछन । बस्ने घरवास छैन । तर, हामीलाई सामन्य गरिबको परिचय पत्र दिईयो ।’ 

‘जसका नम्बरी जग्गा छन् । जो सरकारी जागिरे छन् । गाडी मोटर छन् उनले अति गरिबको परिचय पत्र पाए ।’ धनगढी २ सन्तोषीटोलका हरिलाल विष्टले गुनासो गरे, ‘गरिबलाई सामान्य गरिबको परिचय पत्र दिए, धनीलाई अति गरिबको ।’

जनप्रतिनिधि र कर्मचारी पनि असन्तुष्ट

गरिब घर परिचय पत्र वितरण गरिरहेका धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि वितरण गरिरहेको परिचय पत्रप्रति सन्तुष्ट छैनन् । 

‘परिचयपत्र वितरणको कार्य ठिक उल्टो भइरहेको छ । परिचय पत्र पाउनेले पाएनन् नपाउनुपर्ने पाए ।’ धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले भने, ‘२०७० सालमा गरिएको सर्वेक्षणका आधारमा अहिले परिचय पत्र वितरण गरिदा समस्या भएको हो ।’

उनले आउँदो दिनमा कसरी वितरण गर्ने बारेमा भने सरकारले विचार गर्नुपर्ने बताए । धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंह कार्कीले लगत सङ्कलनको क्रममा लगत संकलक र विवरण दिने व्यक्तिले सही जानकारी नदिँदा अहिले आएर समस्या भएको बताए । 

परिचयपत्र पाएकाहरू परिचयपत्रका आधारमा राज्यद्वारा प्रदान गरिने सेवा सुविधा पाउने छन् । अतिगरीबले निःशुल्क स्वास्थ्य सुविधासहित स्वास्थ्य सुविधा पाउने छन् भने कर छुट, सामाजिक सुरक्षा भत्ता लगायतमा पनि प्राथमिकता पाउने बताइएको छ । 

त्यस्तै, अन्य परिचयपत्रधारीले पनि क्रमशः सहुलियतमा सेवा सुविधा पाउने जनाइएको छ । तर, कहिलेदेखि पाउनेबारे खुलाइएको छैन । तथ्याङक सकलनमा स्थानीय स्वयमसेविका, सामाजिक परिचालिका सहभागी भएका थिए । 

सेवा सुविधा पाउने आसमा तथ्याङक सकलन गर्ने क्रममा सकलनले आफन्तको सम्पत्ति कम देखाएको र पढेलेखेका व्यक्तिले सकलनलाई सही तथ्याङक नदिँदा पनि समस्या भएको बताइएको छ ।