छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस–सुन्तलीको एक लाख सहयोग

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस–सुन्तलीको एक लाख सहयोग

चर्चित हाँस्यकलाकार तथा समाजसेवीद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

बिहीबार बिहान एक स्टाटस पोस्ट गर्दै धुर्मुस–सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा सहयोगको घोषणा गरेका हुन् ।

सुबिहानीको जन्म उत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै विशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणमा सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौँ’, उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

धुर्मुस–सुन्तली छोरी जन्मिएको ८ महिनापछि नै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तलीले आफ्नी छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको विशेष कामले चितवन पुगेका धुर्मुस–सुन्तली बुधबार बेलुकीमात्र काठमाण्डौं फर्किएका छन् ।

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको काम भैरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस–सुन्तली बताउँछन् ।