विश्व मिर्गौला दिवस आज, बेला–बेलामा मिर्गौला जाँच गर्न चिकित्सकको सुझाव

धनगढी खबर    

विश्व मिर्गौला दिवस आज, बेला–बेलामा मिर्गौला जाँच गर्न चिकित्सकको सुझाव

विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार औषतमा १० प्रतिशत नागरिकलाई मिगौलाको समस्या देखिएको छ । त्यसलाई आधार मान्दा नेपालमा ३० लाख जनालाई मिर्गाैलाको समस्या रहेको मिर्गौला विषेशज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताउनुभयो ।

नेपालका विभिन्न अस्पतालमा अहिले पनि ४५ सय भन्दा धेरै ब्यक्ति डायलासिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको पनि डाक्टर काफ्लेले बताउनुभयो ।

मिर्गौलाले पिसाब बनाउनुका साथै रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । तर मृगौलामा खराबी आउँदा यी काम बन्द हुने उहाँले बताउनुभयो । 

यस्तै, तीन लाख मानिसलाई मिर्गौला बिग्रेको थाहा नै नहुने मिर्गौला रोग विषेशज्ञले बताएका छन् । आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको उनीहरुको भनाइ छ ।

खुट्टा सुन्निने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राती सुतिसकेपछि पनि पटक–पटक पिसाब आएमा मिर्गौलाको लक्षण हुन सक्ने भएकाले सावधान रहन पनि डाक्टरले सचेत गराएका छन् । 

मिर्गौला रोग लाग्नै नदिन स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, फलफूल एवम् आवश्यक मात्रामा पानी पिउन पर्ने र बेलाबेला जाँच गर्नुपर्ने पनि उनीहरुको भनाई छ ।

समय समयमा जाँच गराएर मिर्गोलासम्बन्धी समस्याबाट जोगिन सकिने मिर्गौला रोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आज विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।



बिहिबार ३०, फागुन २०७५ १२:१० मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस