कैलालीमा एक सवारी साधनमा आगजनी

कैलालीमा एक सवारी साधनमा आगजनी

कैलाली : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । 

जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताउनुभयो । 

 भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार चालक सहचालक सबै सकुशल छन् । आजै बिहान कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाइदिन्छौँ भन्ने समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । 

 पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् । 

यसै गरी कैलालीको जोशीपुर, सुखड र साडेपानीमा बम जस्तो देखिने शंकास्पद बस्तु राखिएको फेला परेपछि स्थानीय जनजीवन आतङ्कित बनेको छ । बन्दका क्रममा आज कैलाली जिल्लामा यातायात, शैक्षिक संस्था, उद्योग व्यापार ठप्प रही जनजीवन प्रभावित बनेको छ ।