टीकापुर घटनाको छानविन प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सभामुखको रुलिङ

टीकापुर घटनाको छानविन प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सभामुखको रुलिङ

प्रतिनिधिसभाले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए । राजपाको अवरुद्धपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा सभामुख महराले सरकारलाई यथासिघ्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

२०७२ साल भदौमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न सरकारले सर्वोच्च अदालतको पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो ।

आयोगले एक वर्षअघि नै प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।

प्रतिनिधिसभाको अघिल्लो बैठकमा पनि राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको थियो । उक्त बैठकमा सभामुख महराले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन सरकारले अध्ययन गरिरहेको र आवश्यक परे सार्वजनिक गर्ने जवाफ दिएका थिए ।

राजपाले बुधबारको बैठकमा पनि सोही विषयमा संसद अवरुद्ध गर्‍यो । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारले आवश्यक परे सार्वजनिक गर्नेजस्तो स्वेच्छाचारी जवाफ देखिएको भन्दै विरोध जनाए ।

उनले उक्त प्रतिवेदन सावर्जनिक नभएसम्म प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिए ।  सभामुखको रुलिङसँगै राजपाले गरेको संसद अवरोध हटेको छ ।