विवादित बनेको साहित्य महोत्सवबारे बोल्यो आयोजक, अध्यक्ष भन्छन्, 'सबै साहित्यकारको ठेक्का लिएका हैनौँ'

विवादित बनेको साहित्य महोत्सवबारे बोल्यो आयोजक, अध्यक्ष भन्छन्, 'सबै साहित्यकारको ठेक्का लिएका हैनौँ'

धनगढी । विवादित बनेको नेपाली साहित्य महोत्सव २०७८ बारे आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले आफ्नो धारणा सार्वजनिक  गरेको छ । सोमबार रेडियो धनगढी सँगको कुराकानीका क्रममा आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले महोत्सव बारे भ्रम फैलाइएको र त्यस तर्फ आयोजकले ध्यान नदिएको बताएका हुन् । 

यही फागुन १९ गते देखी २१ गते सम्म धनगढी स्थिति सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ्गणमा नेपाली साहित्य महोत्सव सम्पन्न भएको थियो । 

महोत्सव सञ्चालनकै बखत ७४ लेखक, अछाम गजल मञ्च ले सामूहिक रूपमा विज्ञप्ति जारी गर्दै र विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा आफ्ना धारणा पोस्ट्याउँदै महोत्सव बहिष्कार गरेका थिए । उनीहरूले साहित्य महोत्सव नाटक मञ्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको बताएका थिए ।  साहित्यको कार्यक्रम भइरहँदा सुदूरपश्चिमका साहित्यकार तथा लेखकलाई थाहा समेत नदिइएको उनीहरूले आरोप लगाएका थिए । सुदूरपश्चिमका विभिन्न स्थानीय तह र प्रदेश सरकारको सहयोगबाट सञ्चालन भइरहेको महोत्सवमा धनगढी र सुदूरपश्चिमबाहिरका श्रजकलाई मात्र स्थान दिएको र राष्ट्रिय स्तरमा स्थापित हुँदै गरेका धेरै लेखक, कवि र गजलकारहरूलाई वाई पास गरेर कुनै सल्लाह, कुनै खबर बिना केही झुन्ड र आसेपासेलाई जम्मा पारेर कार्यक्रम गरेको उनीहरूले आरोप लगाएका थिए । 

यसै क्रममा रेडियो धनगढी सँग कुरा गर्दै आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले महोत्सव बारे भ्रम फैलाइएको र त्यस तर्फ आयोजकले ध्यान नदिएको बताएका छन् । “हामी आयोजक टिम भएकाले विवादको सन्दर्भमा कसले के भन्यो के कारणले विवाद गरिरहेको छ । हामीले हेर्ने फुर्सद पनि पाएनौँ । हामी निरन्तर महोत्सवको तयारीमा व्यस्त थियौँ ।” उनले भने ।

जोसुकै व्यक्तिले पनि महोत्सवबारे टीकाटिप्पणी गरे पनि आफूहरूले समग्र सुदूरपश्चिमको भलोका लागी काम गरेको अध्यक्ष जोशीको भनाई रहेको छ । “सामाजिक सञ्जालमा र केही व्यक्तिले विरोध गरेको सुन्छौँ । हामीले कविता रचना भन्न पाएनौँ, वाचन गर्न पाएनौँ भन्ने खालका केही कुराहरू सुन्छौँ । यो हामीले कुनै व्यक्तिगत लाभको लागी, पाइँदाको लागी गरिएको महोत्सव हैन । यो एउटा सुदूरपश्चिमको गौरव धनगढीलाई सभ्यता, सभ्यता, बौद्धिकता र चेतनाको सहरका रूपमा स्थापित गर्ने एउटा अभियान हो । मञ्चमा कसले स्थान पायो, कसले पाएन, कसले गजल वाचन गर्न पायो, पाएन, कसले सम्मान पायो पाएन यी कुरालाई लिएर यी सामान्य व्यक्तिगत स्वार्थका कुरालाई लिएर कसैले असन्तुष्टि व्यक्त गर्छ भने त्यो उसको तुच्छ र नीच स्वार्थ भित्र पर्दछ ।” उनले भने । 

त्यस्तै, जोशीले सुदूरका सबै साहित्यकारको ठेक्का नलिएको बताउँदै सामाजिक सञ्जालमा गरिएको अनर्गल प्रचारको अर्थ नभएको दाबी गरे । “मञ्चमा कसरले मौका पायो भन्ने यो व्यक्तिगत गैंण कुरा हो । हामीले यस प्रति ध्यान पनि दिएका छैनौँ । हामीले महत्त्व पनि दिएका छैनौँ । हामी महान् उद्देश्य सहित साहित्य महोत्सव गरिरहेका छौँ । सामाजिक सञ्जालमा राईलो गर्नु भनेको धनगढी, सुदूरपश्चिम प्रतिको घात हो । उहाँहरूले के गर्नुभएको छ ।” उनले थप्दै भने, “उहाँहरूले के गर्नुभएको छ । आफ्नो ठाउँमा गजल वाचन कार्यक्रम गर्न सकिँदैन र ? हामीले यहाँका सबै तिन हजार साहित्यकारहरूको ठेक्का लिएका त हैनौँ । हामीले त एउटा सिम्बोलिक रूपमा यो ठाउँको महत् वका लागी कार्यक्रम आयोजना गरेका हौ ।” उनले भने । 

अध्यक्ष जोशीले विभिन्न दाताहरूको सहयोगमा कार्यक्रमबाट २० वटा पुरस्कार दिने गरेको र केही स्रष्टा, सहित्यकारहरुलाई अघिल्लो महोत्सवमा ठाउँ र सम्मान दिएको र केहीलाई यो वर्ष भने यसपालि छुटेका हरूलाई अर्को वर्ष आयोजना हुने महोत्सवमा सम्मान गर्ने बताए । “हामीले नौ वटै जिल्लाका साहित्य सँग सम्बन्धित स्रष्टाहरूलाई सम्मान गरेका छौँ । गर्ने प्रयत्नमा छौँ । के यो अपराध भयो ? । हामीले धनगढीलाई बौद्धिक केन्द्र बनाउनका लागी प्रयास गरेका छौँ । के यो नगर्नु पर्ने थियो ।” उनले भने ।

यस्तै, जोशीले साहित्य समाज झोलामा नभएको र कार्यालयमा आएर सबै कहाँ कति खर्च भयो कसले कति सहयोग गर्‍यो भनी हेर्न सक्ने बताउँदै चाँडै यसपालि भएको लागेको खर्च विवरण सार्वजनिक बताए । यसपालिको कार्यक्रममा मा ३५ देखी ४० लाख खर्च भएको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट बिस लाख रुपैयाँ सहयोग दिने गरी सम्झौता भएको र अन्य बाकी जिल्लाहरूको पालिकाकाहरु बाट रकम नपाए पनि सहयोग को आश्वासन पाएको बताए । अघिल्लो वर्ष पनि घाटामा गएको र यसपालि पनि पहिलेको रकम चुक्ता गर्दा पनि आयोजक संस्था घाटामै रहने जोशीको भनाई थियो ।  “दाताहरूकै सहयोग बाट अहिले सम्म नेपाल मै सुरुवात नभएको साहित्य महोत्सव धनगढीमा गरेका छौँ । हामीलाई प्रदेश सरकारको सहयोग छ । अघिल्लो कार्यक्रममा पनि सहयोग पाएका थियौँ । अहिलेको कार्यक्रममा बिस लाख सहयोग पाएका छौँ । सुदूरपश्चिम प्रदेशको कला साहित्यलाई प्रवर्द्धन र प्रचार गर्नुका साथै स्रष्टाहरूको सम्मानको लागी हामीले कार्यक्रमको थालनी गरेका हौँ । गरी रहने छौँ । सहयोग प्रदेश सरकारबाट मात्रै प्राप्त भएको छ । अन्य पालिकाहरूबाट आश्वासन पाएका छौँ । सबै खर्च हेर्दा पनि अझै घाटामै रहने अवस्था छ।” उनले भने ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको उक्त महोत्सवका आयोजक समितिका संयोजक यज्ञराज उपाध्याय हुन् । भने महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए ।